ग्रिसको राजधानी एथेन्सको जंगलमा भीषण डढेलो

आसपासका हजारौं बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिँदै
श्रावण २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
ग्रिसको राजधानी एथेन्सको जंगलमा भीषण डढेलो

काठमाडौं । ग्रिसको राजधानी एथेन्सको उत्तरतर्फको जंगलमा आइतबार दिउँसोदेखि लागेको डढेलो निरन्तर फैलिँदै गएपछि वरपरका हजारौं वासिन्दालाई सुरक्षित स्थानतर्फ सारिँदैछ । एथेन्सबाट करिब ३५ किलोमिटरको दुरीमा पर्ने वार्नावास नगर छेउको जंगलमा आइतबार दिउँसो आगो सल्केको जनाइएको छ ।

वार्नावास नगरका घरहरुमा आगो लागेको र नगरको एक सय वर्ग किलोमिटर भूमि आगोले डढाएको अग्निनियन्त्रक अधिकारीहरुले जनाएका छन् । आगो फैलिँदै गएपछि कम्तिमा ११ नगर र गाउँका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिंदै गरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् । ऐतिहासिक महत्वको म्याराथन सहरका ३० हजारभन्दा बढी बासिन्दालाई पनि आपतकालीन सेवाका मानिसहरुले सुरक्षित स्थलतर्फ सारिरहेको बीबीसीले उल्लेख गरेको छ ।

आइतबार यता ग्रिसको जंगलका विभिन्न ४० स्थानमा आगो लागेको छ भने अग्नि नियन्त्रकहरु दिनरात आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् । आगो नियन्त्रणका लागि ६ सय ७० भन्दा बढी अग्नि नियन्त्रक र स्वयंसेवक, ३२ वटा अग्निनियन्त्रक विमान र हेलिकोप्टरका साथै एक सय ८३ वटा वारुणयन्त्र परिचालन गरिए पनि तीव्र गतिमा हावा चलिरहेका कारण आगो नियन्त्रणमा आउन सकेको छैन ।

आगो एथेन्सको उत्तरपूर्वमा पर्ने पेन्टेली गाउँको दक्षिणतर्फ अघि बढिरहेको र सो क्षेत्रका कम्तीमा ३ वटा अस्पताललाई खाली गराइएको अग्नि नियन्त्रण सेवाका अधिकारीले बताएका छन् । ग्रिसमा गत जुन र जुलाई महिनामा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो । यसैबीच ग्रिस सरकारले डढेलो नियन्त्रणमा सघाउन क्रोएसिया र स्पेनलाई औपचारिक आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement