काठमाडौं । इजरायलले दक्षिणी गाजाको खान युनिस सहर र वरपरका बासिन्दालाई सहर छाड्न आदेश दिएपछि विस्फोट र आक्रमणका बीच हजारौं मानिसले आइतबार राति सहर छाडेका छन् ।
इजरायली सेनाले खान युनिसका बासिन्दालाई सहर छाडन आदेश दिएको एक महिना अवधिमै यो चौथो पटक हो । अघिल्लो आइतबार, सोमबार र बिहीबार इजरायली सेनाले प्यालेष्टिनीहरुलाई सो क्षेत्र छाडन आदेश दिएको थियो ।
इजरायली सेनाले भने हमास लडाकु लक्षित आक्रमण गर्न लागेकाले खान युनिसका विभिन्न क्षेत्र छाडन आदेश दिएको तर्क गरेको छ । १० महिना लामो द्वन्द्वमा इजरायली सेनाले दिएको यो सबैभन्दा ठूलो पलायन आदेश भएको रोयटर्सले टिप्पणी गरेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै इजरायली आक्रमणमा परि गाजामा कम्तीमा २५ प्यालेष्टिनी मारिएको जनाइएको छ । इजरायली सेनाले गत अक्टोबर ७ मा गाजामा प्रत्याक्रमण सुरु गरेयता ३९ हजारभन्दा बढी प्यालेष्टिनी मारिएको र यो संख्या गाजाको कुल जनसंख्याको एक दशमलव ८ प्रतिशत भएको जनाइएको छ । मारिनेमा करिब १५ हजार बालबालिका रहेको जनाइएको छ ।
यस्तै मारिएका मध्ये ७५ प्रतिशत व्यक्ति ३० वर्षमुनिका छन् । आक्रमणमा हजारौं मानिस घाइते भएकामा अधिकांश महिला र बालबालिका रहेको जनाइएको छ । इजरायली सेनाले आक्रमण सुरु गर्नु पूर्व गाजाको जनसंख्या २२ लाखभन्दा केही बढी थियो ।