काठमाडौं । बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मुहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाइ पाउनुभएको छ । बंगलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी)ले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।
बंगलादेशी पत्रिका डेली स्टारका अनुसार भ्रष्टाचार विरोधी आयोगले ढाका अदालतमा दायर गरेको उजुरी फिर्ता लिएपछि उहाँले सफाइ पाउनुभएको हो । विशेष न्यायाधीश एमडी रावियुल आलमको बेन्चले उजुरी फिर्ता लिएको जानकारी गराउँदै डा. युनुसलाई उक्त मुद्दामा सफाइ दिएको बताएका छन् ।
युनुसलाई ग्रामीण टेलिकमको अध्यक्ष हुँदा श्रम कानुन उल्लङ्घन गरेको आरोप समेत लागेको थियो । अन्तरिम सरकार गठन हुनुभन्दा एक दिनअघि नै श्रम कानुन उल्लङ्घनसम्बन्धी मुद्दामा युनुसलाई सफाइ दिइएको थियो।
युनुसबाहेक, ग्रामीण टेलिकमका निर्देशक अशरफुल हसन, मोहम्मद शाहजहान र वर्तमान अन्तरिम सरकारका सदस्य नूरजहाँ बेगमलाई पनि श्रम कानुन उल्लङ्घन गरेको आरोप लागेको थियो ।
यसैवर्ष जनवरीमा यस प्रकरणका सबै अभियुक्तलाई ६ महिना कैद र २० हजार जरिवाना सुनाइएको थियो। त्यस्तै गत जुनमा युनुससहित अन्य १३ जनालाई ३० करोडभन्दा बढी भ्रष्टाचार गरको आरोपमा मुद्दा दायर गरिएको थियो। यस मुद्दामा पनि युनुसले सफाइ पाउनुभएको छ ।
त्यस्तै सरकारकी सल्लाहकार नूरजहाँ बेगम पनि भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ । यसैबीच, बंगलादेशमा जारी अल्पसंख्यकविरुद्धको आन्दोलनलाई जघन्य अपराध भन्दै युवाहरुलाई हिन्दु, इसाई र बौद्ध परिवारहरुको रक्षा गर्न आग्रह गर्नुभएको छ । अल्पसंख्यकविरुद्ध ५२ जिल्लामा २ सय ५ घटना अगाडि आएपछि संगठनहरुले उनीहरुको सुरक्षा गर्न अपिल गरेका थिए ।