बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनद्वारा संसद् विघटन

श्रावण २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनद्वारा संसद् विघटन

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले संसद् विघटन गर्नुभएको छ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि अन्तरिम सरकार गठनको मार्गप्रशस्त गर्न राष्ट्रपतिले संसद् विघटन गर्नुभएको हो ।

स्थल, जल तथा वायुसेनाका प्रमुख, राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि तथा भेदभावविरुद्धको अभियानका विद्यार्थी नेताहरूसँगको बैठकपछि संसद् विघटन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै, विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी-बीएनपीकी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको छ । प्रदर्शनका क्रममा पक्राउ परेकाहरूको रिहाइ पनि सुरु गरिएको जनाइएको छ । 

यसैबीच,भेदभावविरुद्धको विद्यार्थी आन्दोलनका संयोजकहरूले अन्तरिम सरकारका प्रमुख सल्लाहकार बन्न गरेको आग्रहलाई नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले स्वीकार गरेको स्थानीय सञ्चारमाध्यम ढाका ट्रिब्युनले जनाएको छ । हाल ओलम्पिक कमिटीको निम्तामा पेरिस पुग्नु भएका उहाँ चाँडै बंगलादेश फिर्ता हुने जनाइएको छ । आन्दोलनका संयोजकहरु नहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजुमदारले २४ घण्टाभित्र अन्तरिम सरकारको पूर्ण खाका तयार पारिने पनि बताएका छन् । 

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पद त्याग गरेर देश छाडिसकेपछि पनि रातभर प्रदर्शन र हिंसा जारी रहेका कारण आन्दोलनका संयोजकहरूले राति नै नयाँ अन्तरिम सरकारबारे आफ्नो धारणा राखेका हुन्। हसिनाको राजीनामायता भएका हिंसामा १ सयजना बढी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हाल शान्ति, सुरक्षा र कानुनको पालना गराउने जिम्मेवारी सेनालाई दिइएको छ। तर, सेनाको शासन स्वीकार्य नरहेको विद्यार्थीहरूले बताएका छन् । 

हसिना भने हाल भारतमा हुनुहुन्छ । यसैबीच भारतले पनि आफ्नो सीमा सुरक्षालाई कडा पारेको छ । बंगलादेशको ताजा अवस्थाालाई लिएर आज भारतमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा विदेशमन्त्री एस जयशंकरले घटनाबारे ब्रिफ्रिङ गर्नुभएको थियो । जयशंकरले घटनाबारे गम्भीरतापूर्वक नजर राखिरहेको बताउँदै बंगलादेशमा रहेका भारतीयहरूसँग पनि सम्पर्कमा रहेको बताउनुभएको छ ।

यो पनि...

शेख हसिनालाई देशै छाड्ने अवस्था कसरी आइपर्‍यो ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement