काठमाडौं । विद्यार्थी राजनीतिको बलमा शक्तिमा पुगेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अन्ततः विद्यार्थी आन्दोलनकै कारण सत्ताच्युत हुनु परेको छ । जीवनभर बंगलादेशको लोकतन्त्रका लागि लडे पनि र देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आफ्नै शासकीय कार्यशैलीकै कारण मुलुक नै छाड्ने अवस्थामा पुगिन् । बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानकी छोरी शेख हसिना कसरी बंगलादेशको राजनीतिमा शक्तिशाली भइन् र देशै छाड्ने अवस्था कसरी आइपर्यो ?
स्वतन्त्रता सेनानी र उनीहरूका परिवारलाई सरकारी जागिरमा दिइएको ३० प्रतिशत आरक्षणको विरोधमा भएको आन्दोलन सर्वोच्च अदालतको आदेशपछि केही मत्थर भएको थियो । सर्वोच्चले आरक्षणलाई घटाएर ५ प्रतिशतमा सीमित गरेको थियो । तर, आइतबार विद्यार्थीहरू प्रधानमन्त्री शेख हसिनाकै राजीनामा माग गर्दै एकाएक प्रदर्शनमा उत्रिए । हिंसात्मक झडपमा १ सय जनाभन्दा बढीको मृत्यु भयो । सरकारले देशव्यापी लगाएको कर्फ्यु अवज्ञा गर्दै आन्दोलन चर्किएपछि सोमबार दिउँसो प्रधानमन्त्री हसिना राजीनामा दिएर भारततर्फ लागिन् । तर, हसिनाले भारतमा शरण लिएको यो पहिलो घटना थिएन ।
सन् १९७१ मा पाकिस्तानबाट अलग भएपछि शेख मुजिबुर रहमानले चार वर्ष शासन गरे । तर, सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै सन् १९७५ मा सैन्य कु गरियो । त्यसक्रममा रहमानसहित परिवारका १८ सदस्यको हत्या गरियो । त्यतिबेला जर्मनीका रहेकाले शेख हसिना र उनकी बहिनी शेख रेहानामात्र बाँच्न सफल भए । त्यो बेला भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको आह्वानमा हसिनाले भारतमा शरण लिइन् ।
ढाका विश्वविद्यालयमा पढ्दादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय भएकी उनी सन् १९८१ को फेब्रुअरी १६ मा अवामी लिगको अध्यक्ष भइन् र त्यसको भोलिपल्ट स्वदेश फर्किइन् । उनले खालिदा जियासँग मिलेर हुसेन मोहम्मद एर्सादको सैन्य शासनविरुद्ध लोकतन्त्रका पक्षमा लडिन् । लोकतन्त्र स्थापना भएपछिको आमनिर्वाचनमार्फत जिया सत्तामा पुगिन् ।
त्यसक्रममा बेगम खालिदा जिया र शेख हसिनाबीच चिसिएको सम्बन्धले बंगलादेशमा राजनीतिक अस्थिरताको बीजारोपण गर्यो । सन् २००९ सम्मै यी दुईबीचको प्रतिस्पर्धाले कहिले जिया, त कहिले हसिना सत्तामा पुग्ने क्रम चलिरह्यो । २००८ को आम चुनावमा शेख हसिना सत्तामा पुगेपछि पनि यी दुई नेतृबीचको द्वन्द्व जारी रह्यो ।
सन् २०१४ मा विपक्षी दलको बहिस्कारका बाबजुद गरिएको निर्वाचनमा उनी दोस्रो पटक सत्तामा पुगिन्, जसको अन्तर्राष्ट्रियस्तरमै आलोचना भयो । आपसी द्वन्द्वका कारण सरकारले विपक्षी नेतृ खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल पठायो । २०२४ जनवरीमा भएको निर्वाचनपछि त हसिना दुई तिहाइ बहुमतसहित अझ शक्तिशाली प्रधानमन्त्रीका रूपमा स्थापित भएकी थिइन् ।
यसबीचमा सरकारी जागिरमा स्वतन्त्रता सेनानीलाई आरक्षण दिइएका कारण योग्य व्यक्तिहरू अवसरबाट वञ्चित हुनुपरेको असन्तुष्टि चुलिँदै थियो । जसविरुद्ध सन् २०१८ मा हिंसात्मक प्रदर्शन भएपछि सरकारले आरक्षण खारेज गर्ने घोषणा गर्यो । तर, सर्वोच्चले गत जुनमा आरक्षण पुनः ब्युँताएपछि विद्यार्थीहरू सडकमा उत्रिए, जसले दक्षिण एसियाकै शक्तिशाली मानिएकी शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य गर्यो ।
त्यसो त शेख हसिनालाई जर्जर अवस्थामा रहेको बंगलादेशको आर्थिक स्थिति मजबुत बनाएको श्रेय दिइन्छ । सन् २००९ मा प्रतिव्यक्ति आय ६ सय ९८ डलर रहेकोमा उनको १५ वर्ष शासन अवधिमा २ हजार ६ सय ६८ पुगेको छ भने सन् २००९ मा १ सय २ दशमलव चार आठ अर्ब रहेको कुल गार्हस्थ्य उत्पादन २०२२ मा ४ सय ६० दशमलव दुई शून्य पुगेको छ । यस्तै, कपडा र तयारी पोसाकको उद्योग पनि ठूलो उद्योगको रूपमा स्थापित भएको छ ।
तर, हसिनामाथि केही सीमित वर्गको फाइदाका लागि मात्र काम गरेको आरोप लाग्दै आएको छ । यस्तै, लोकतन्त्रका लागि जीवनभर लडे पनि पछिल्लो समय उनको कार्यशैली विपक्षीलाई दबाउने र तानाशाहीतिर उद्धत भएको भन्दै आलोचना हुन थालेको थियो । जनताका असन्तुष्टिलाई उनले बेवास्ता गरिरहिन् । आइतबार जतिबेला उनले देशबासीका नाममा सम्बोधन गर्ने चाहना राखिन्, त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो ।
अहिले उनी आफ्नै कार्यशैलीले पुनः भारतको शरणमा पुगेकी छन् । ७५ वर्षीया हसिनाका परिवारले उनी अब राजनीतिमा नफर्कने बताइसकेको छ । थाहा छैन, भारतको गाजियाबादस्थित हिन्डन एयरबेसमा शरण लिइरहेकी उनको अबको यात्रा कुन देश हुनेछ ।