काठमाडौं । रुस र पश्चिमा देशबीच हिजो शीतयुद्धकाल यताकै सबैभन्दा महत्त्वपूर्ण बन्दी आदान-प्रदान भएको छ । ६ देशका जेलमा रहेका कुल २४ जना बन्दी साटासाट गरिएको छ ।
ह्वाइटहाउसले १६ कैदीलाई रिहा गरिएको र उनीहरू युरोप र अमेरिका फर्कने क्रममा रहेको जनाएको छ । रिहा भएकामध्ये वाल स्ट्रीट जर्नलका रिपोर्टर इभान गेर्शकोविच पनि छन् ।
यसको बदलामा अमेरिका लगायतका पश्चिमा देशले ८ जना रुसी बन्दीलाई रिहा गरेका छन् । अमेरिका, नर्वे, जर्मनी, पोल्यान्ड र स्लोभेनियाका जेलहरूबाट ८ रुसी कैदीहरूलाई रिहा गरिएको हो । यसका साथै दुई जना कैदीका छोराछोरी पनि रुस फर्किएका छन् ।
समन्वयात्मक रुपमा बन्दी रिहाइका लागि अमेरिकाले रुस, जर्मनी र अन्य तीन देशहरूसँग सघन वार्ता गरेको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौतालाई ‘कूटनीति र मित्रताको उपलब्धि’ भनेर प्रशंसा गर्नुभएको छ ।
एक वर्षभन्दा बढी समयसम्म गोप्य रूपमा भएको वार्ता पछि उक्त सम्झौता भएको हो ।