काठमाडौं । भारत र चीन आफ्नो सीमा विवाद समाधान गर्न वार्तालाई गति दिन र सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न सहमत भएका छन् ।
सन् २०२० देखि जारी पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) को विवादलाई तत्काल समाधान गर्ने वार्तालाई गति दिन दुवै पक्ष सहमत भएका हुन् । नयाँदिल्लीमा भएको ३०औं चरणको सीमासम्बन्धी वार्तामा चीन-भारत सीमासँग सम्बन्धित विशेष मुद्दामा ध्यान केन्द्रित गर्ने, एक-अर्काका उचित चासोलाई सम्बोधन गर्ने सहमति भएको हो ।
यसैबीच, दुवै पक्ष कूटनीतिक र सैन्य च्यानलमार्फत वार्ता जारी राख्न, वार्ता संयन्त्रको निर्माणलाई सुदृढ गर्न, वार्ता प्रक्रियालाई गति दिन सहमत भएको सहमत भएको चिनियाँ विदेश मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै भारतीय विदेश मन्त्रालयले विवादित विषयलाई समाधान गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको जनाएको छ । बेइजिङले लामो समयदेखि सीमा विवादले द्विपक्षीय सम्बन्धलाई परिभाषित गर्न नहुने बताउँदै आएको छ भने भारतले सीमा समस्या नै सम्बन्ध पुनर्स्थापनाको आधार भएको जनाउँदै आएको छ ।
पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुवै पक्षले करिब ५० हजार सैनिक तैनाथ गरेका छन् ।