काठमाडौं । प्यालेष्टिनी लडाकु समूह हमासका प्रमुख इस्माइल हनिया मारिएको विषयलाई लिएर बुधबार बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक बसेको छ । उक्त बैठकमा इरान र इजरायलले एक अर्कामाथि आरोप प्रत्यारोप गरेका छन् ।
परिषद्का अन्य सदस्य राष्ट्रले भने मध्यपूर्वमा बढ्दो द्वन्द्व रोक्न कूटनीतिक प्रयासहरू तीव्र पार्न आह्वान गरेका छन् । इरानको राजधानी तेहरानमा बुधवार बिहानै हमासका नेता हनियाको क्षेप्यास्त्र प्रहार गरी हत्या गरिएको थियो भने इरानले इजरायलसँग त्यसको बदला लिने दृढता व्यक्त गरेको छ ।
सुरक्षा परिषद् बैठकमा चीन, रुस, अल्जेरिया र अन्य सदस्य राष्ट्रले हनियाको हत्याको निन्दा गरेका थिए । संयुक्त राष्ट्रसंघकालागि इरानी राजदूतले हनियाको हत्यालाई आतंकवादको कार्य भन्दै इजरायलमाथि प्रतिबन्ध लगाएर उसलाइ दण्डित गर्न माग गरेका थिए ।
प्रत्युत्तरमा इजरायलका उप राजदुतले क्षेत्रीय आतंकवादलाई प्रश्रय दिएको भन्दै इरानको भर्त्सना गर्न र उसमाथि थप प्रतिबन्ध लगाउन माग गरेका थिए । संयुक्त राष्ट्रका लागि उप-अमेरिकी राजदूत, रोबर्ट वुडले इरानमाथि क्षेत्रीय द्वन्द्व नबढाउन दबाब दिन सदस्य राष्ट्रहरुलाई आह्वान गरेका थिए ।