हमासका राजनीतिक ब्युरो प्रमुख इस्माइल हनिया मारिएको घटनाले विश्वस्तरमै तरंग

मध्यपूर्वमा क्षेत्रीय युद्ध सुरु हुन सक्ने आशंका
श्रावण १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
हमासका राजनीतिक ब्युरो प्रमुख इस्माइल हनिया मारिएको घटनाले विश्वस्तरमै तरंग

काठमाडौं । इरानसमर्थित प्यालेस्टिनी लडाकु समूह हमासका राजनीतिक ब्युरो प्रमुख इस्माइल हनिया बुधबार इरानको राजधानी तेहरानमा मारिएको घटनाले विश्वस्तरमै राजनीतिक तरंग उत्पन्न गरिदिएको छ । यो घटनापछि मध्यपूर्वमा क्षेत्रीय युद्ध सुरु हुन सक्ने आशंका गरिएको छ ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले हनियाको हत्याका लागि इजरायललाई पश्चाताप गर्न बाध्य पार्ने चेतावनी दिनुभएको छ । साथै उहाँले इरानले आफ्नो भौगोलिक अखण्डता, सम्मान र प्रतिष्ठाको रक्षा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । राष्ट्रपति पेजेश्कियनले हनियालाई एक बहादुर नेताका रूपमा व्याख्या गर्नुभएको एएफपीले जनाएको छ । यसैगरी इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खमेनीले हनियाको हत्याको बदला लिनु इरानको कर्तव्य भएको बताउनु भएको छ । 

यस्तै कतारले हनियाको हत्यालाई जघन्य अपराध भन्दै भर्त्सना गरेको छ । कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै हनियाको हत्या अन्तर्राष्ट्रिय र मानवीय कानूनको ठाडो उल्लंघन भएको जनाएको छ । विज्ञप्तिमा हनियाको हत्या र सर्वसाधारण नागरिकलाई लगातार निशाना बनाइरहने इजरायलको गैरजिम्मेवार  व्यवहारले मध्यपूर्वलाई अस्तव्यस्ततामा धकेल्ने र शान्तिको सम्भावनालाई अवमूल्यन गर्ने टिप्पणी गरेको छ । 

चीनले पनि हमास नेताको हत्याको कडा शब्दमा भर्त्सना गरेको छ । साथै उसले यस हत्याले मध्यपूर्वमा थप अस्थिरता निम्त्याउने आशंका  व्यक्त गरेको छ । त्यस्तै रुसले पनि हनियाको हत्यालाई राजनीतिक भन्दै भर्त्सना गर्नुका साथै सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आहृवान गरेको छ । 

हमासले हनियाको हत्या इजरायलले गरेको आरोप लगाएको छ । तर इजरायलले भने हनियाको मृत्युमा अझै कुनै प्रतिक्रिया जनाइसकेको छैन । यस्तै अमेरिकाका तर्फबाट पनि हनियाको हत्याबारे कुनै प्रतिक्रिया आइसकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.