इजरायलको आक्रमणबाट इरानमा मारिए हमासका चिफ इस्माइल हानिया

बदला लिने हमासको उद्घोष
श्रावण १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलको आक्रमणबाट इरानमा मारिए हमासका चिफ इस्माइल हानिया

काठमाडौं । गाजाको चरमपन्थी समूह हमासका प्रमुख इस्माइल हानिया मारिएका छन् । इजरायलले नेता हानियालाई आज बिहान इरानको राजधानी तेहरानस्थित उनी बसोबास गर्दै आएको घरमै आक्रमण गरेको हो ।

हानियासँगै उनको सुरक्षामा खटिएका अंगरक्षक पनि मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमासले समेत एक विज्ञप्ति जारी गर्दै इजरायली आक्रमणमा प्रमुख नेता हानिया मारिएको पुष्टि गरेको छ । हमासले हानियाको मृत्युको बदला लिने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।

हानिया मंगलबार इरानका नवनियुक्त राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा सहभागी हुन तेहरान पुगेका थिए । त्यस्तै उनले सपथ ग्रहण समारोहमा सहभागी हुनुभन्दा अगाडि इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनेईसँग पनि भेटवार्ता गरेका थिए ।

इरानको ‘इस्लामिक रेभोलुसनरी गार्ड’ले समेत हमास प्रमुख हानियाको मृत्यु भएको पुष्टि गरेको छ । इजरायली सेनाले गत अप्रिलमा उनका तीन छोराको समेत हत्या गरेको थियो । हानिया हमासको राजनीतिक ब्यूरो प्रमुख थिए । हमाससँग राजनीतिक, सैन्य तथा सामाजिक काम गर्ने थुप्रै इकाइहरू छन् ।

हानियाले सन् २०१७ देखि हमासमो नेतृत्व सम्हालेका थिए । उनी कतारको राजधानी दोहामा बस्थे र त्यहीँबाट हमासको काम हेर्ने गरेका थिए । उनकै नेतृत्वमा इजरायलसँग हमासले युद्ध सुरु गरेको थियो । अक्टोबर ७ यता सुरु भएको युद्ध भने अहिलेसम्म जारी रहेको छ । जसमा साढे ३९ हजारको प्यालेस्टिनीको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement