गाजामा फैलियो पोलियो महामारी

श्रावण १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजामा फैलियो पोलियो महामारी

काठमाडौं । गाजामा पोलियो महामारी फैलिएको छ । युद्धका कारण गाजामा सरसफाइ अभाव र चिकित्सा प्रणालीमा क्षति पुगेका कारण पोलियो महामारी फैलिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले पोलियो उन्मूलन भएको वर्षौंपछि दक्षिणी गाजा र खान युनिसको फोहोर पानीमा फेरि एक पटक भाइरस फेला परेको पुष्टि गर्दै त्यहाँका बासिन्दाहरूको स्वास्थ्यमा खतरा पर्ने जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसन्धानकर्ताहरूले खान युनिस र अन्य ठाउँबाट संकलन गरिएका ६ वटा ढलको नमुनाहरूमा पोलियो भाइरस फेला पारेको बताइसकेको छ ।

गाजाको स्वास्थ्य प्राधिकरणले पोलियो महामारीसँग लड्न राष्ट्रसंघको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ), डब्ल्यूएचओसँग काम गर्ने बताएको छ । त्यहाँ उपलब्ध खानेपानी, सरसफाइ आपूर्ति र फोहोर व्यवस्थापनको अभावको मूल कारणहरूलाई सम्बोधन गर्न समेत मन्त्रालयले अन्तर्राष्ट्रिय निकायलाई आग्रह गरेको छ ।

अक्टोबर ७ यता सुरु भएको इजरायली–प्यालेस्टिनी द्वन्द्वका कारण गाजाले गम्भीर मानवीय संकटको सामना गरिरहेको छ भने स्वास्थ्य प्रणालीहरू गम्भीर रूपमा प्रभावित भएकाले संक्रामक रोगहरूको जोखिम बढ्दै गएको बताइएको छ । मन्त्रालयले गाजाका बासिन्दालाई प्रयोगयोग्य पानीबाट बञ्चित गरेको, स्थानीय स्वास्थ्य पूर्वाधारलाई नष्ट गरेकोमा इजरायलको निन्दा गरेको छ ।

डब्लूएचओले आगामी साता बालबालिकालाई खोप लगाउन युद्धग्रस्त क्षेत्रमा पोलियो खोपको १० लाखभन्दा बढी डोज पठाउने बताएको छ । मानव फोहोरबाट फैलिने पोलियो संक्रामक भाइरल रोग हो । जसले स्नायु प्रणालीमा आक्रमण गर्दछ र पक्षाघात गराउन सक्छ । यसले सामान्यतया पाँच वर्ष मुनिका बालबालिकालाई असर गर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement