केरल बाढीपहिरो अपडेट : मृतकको संख्या ९३ पुग्यो

थप १ सय जनाभन्दा बढी पुरिए
मृतकका परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिइने
श्रावण १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
केरल बाढीपहिरो अपडेट : मृतकको संख्या ९३ पुग्यो

काठमाडौं । भारत केरलको वायनाडमा भारी वर्षापछि गएको बाढी तथा पहिरोमा परी बालबालिकासहित मृत्यु हुनेको संख्या ९३ पुगेको छ । मृत्यु हुनेमा एक नेपाली बालक पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आज बिहान २ बजे वायनाडको मोप्पाडीस्थित थोन्डरनाड क्षेत्रमा गएको परिवारमा नेपाली परिवारका १ वर्षीय बालकको मृत्यु भएको हो । पहिरोमा एक सय जनाभन्दा बढी पुरिएको बताइएको छ । तर, सरकारी अधिकारीहरुले पुरिएकाहरुको एकीन तथ्यांक नभएको जनाएका छन् ।

स्वास्थ्यमन्त्री विना जर्जका अनुसार पहिरोमा पुरिएकाहरुको खोजीका लागि स्थल तथा जल सेना परिचालन गरिएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुको भनाइ छ । २५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

केरलकी मुख्यसचिव वेणुका अनुसार पटक-पटक गएको पहिरोका कारण घाइते भएका ११६ जनालाई मेप्पाडी अस्पतालमा भर्ना गरिएको छ । मुख्यमन्त्री पिनाराई विजयनले उद्धारमा सबै सरकारी संयन्त्र सक्रिय भएको जनाउनुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका आफन्तालाई प्रधानमन्त्री राहत कोषबाट प्रतिव्यक्ति दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । घाइतेलाई ५० हजार रुपैयाँ दिइने घोषणा गरिएको छ ।

यस्तै, राष्ट्रपति द्रौपदी मुर्मू, वायनाडका सांसद राहुल गान्धी, कांग्रेस नेता प्रियंका गान्धीलगायत नेताहरुले उद्धारलाई प्रभावकारी बनाउन सरकारसमक्ष आग्रह गर्नुभएको छ । केरलको विपद् व्यवस्थापन विभागले गत ३० जुलाईमै वायनाडसहित कोझीकोड, मल्लापुरम तथा कन्नुरमा रेड अलर्ट जारी गरेको थियो । मौसम विभागले उक्त क्षेत्रमा गत २४ घण्टामा २०४ मिलिमिटर पानी परेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.