भेनेजुएलामा राष्ट्रपतिका दुई उम्मेदवारद्वारा आफू विजयी भएको दाबी

अमेरिकाले उठायो निर्वाचनको निष्पक्षतामाथि प्रश्न
श्रावण १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
भेनेजुएलामा राष्ट्रपतिका दुई उम्मेदवारद्वारा आफू विजयी भएको दाबी

काठमाडौं । भेनेजुएलामा हिजो भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति निकोलस मडुरो र उहाँका प्रमुख प्रतिस्पर्धी एडमन्डो गोन्जालेज दुवैले आफू विजयी भएको दाबी गरेका छन् ।

राष्ट्रिय निर्वाचन परिषद्ले मध्यरातमा ५१ प्रतिशत मतका साथ मडुरो तेस्रो कार्यकालका लागि निर्वाचित भएको घोषणा गरेको थियो । यद्यपि एक्जिट पोलहरुले भने विपक्षी दल विजयी हुने प्रक्षेपण गरेका थिए । मडुरोका विश्वासपात्र राष्ट्रिय निर्वाचन परिषदका प्रमुख एल्भिस अमोरोसोले ८० प्रतिशत मत गणना गरिसक्दा मडुरोले उनका प्रमुख प्रतिद्वन्द्वी एडमुन्डो गोन्जालेजको ४४ प्रतिशत मतको तुलनामा ५१ प्रतिशत मत प्राप्त गरेको र मडुरो विजयी हुनुभएको घोषणा गर्नुभएको थियो ।

प्रतिपक्षी गठबन्धन दलहरुले भने निर्वाचन परिषद्को घोषणालाई धोखाधडीभन्दै अस्वीकार गरेका छन् । उनीहरुले आफ्ना उम्मेदवार गोन्जालेजले ७० प्रतिशत मत प्राप्त गरेको र उनी नै वास्तविक रुपमा निर्वाचित राष्ट्रपति भएको दाबी गरेका छन् । उता राष्ट्रपतिको निवासमा समर्थकलाई सम्बोधन गर्दै मडुरोले आफ्नो पुनर्निर्वाचन शान्ति र स्थायित्वको विजय भएको र भेनेजुएलाको निर्वाचन प्रणाली पारदर्शी भएको दाबी गर्नुभएको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले घोषित परिणामले भेनेजुएलियन जनताको चाहना वा मत प्रतिविम्बित नगरेको भन्दै गम्भीर चासो व्यक्त गर्नुभएको छ । साथै उहाँले खसेको मतको विस्तृत विवरण सार्वजनिक गर्न निर्वाचन अधिकारीहरुलाई आह्वान गर्नुभएको छ ।

यस्तै उपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएलियन जनताको चाहनाको सम्मान गरिनु पर्ने भन्दै ट्विट गर्नुभएको छ । चिली, पेरु, कोस्टारिका, उरुग्वे, ग्वाटेमाला र अर्जेन्टिनाका नेताहरुले राष्ट्रपतीय निर्वाचनको अनियमित परिणामलाई मान्यता नदिने भन्दै ट्विट गरेका छन् । तर क्युबा, होन्डुरस र बोलिभियाका राष्ट्रपतिहरुले भने निर्वाचन परिणामको स्वागत गर्दै पुनर्निर्वाचित भएकोमा मडुरोलाई बधाई दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.