इजरायलको सुरक्षा परिषद्‌द्वारा लेबनानमाथि बदला लिने अधिकार नेतन्याहू र ग्लान्टलाई

विभिन्न देशका लेबनान जाने फ्लाइट होल्ड, सचेत रहन नागरिकलाई आग्रह
श्रावण १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलको सुरक्षा परिषद्‌द्वारा लेबनानमाथि बदला लिने अधिकार नेतन्याहू र ग्लान्टलाई

काठमाडौं । इजरायलको सुरक्षा परिषद्ले इजरायल अधीनस्थ गोलान हाइट्समा भएको आक्रमणको बदला लिने अधिकार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षा मन्त्री योआभ ग्लान्टलाई दिएको छ ।

इजरायल अधीनस्थ गोलान हाइट्सको एउटा फुटबल मैदानमा भएको रकेट आक्रमणमा त्यहाँ खेलिरहेका बालक र युवा गरी १२ जना मारिएपछि हिजो साँझ बसेको इजरायलको सुरक्षा परिषद्को बैठक लेबनानी लडाकु समूह हिजबुल्लाहमाथि कहिले र कुन बेला आक्रमण गर्ने भन्ने अधिकार प्रधानमन्त्री र रक्षा मन्त्रीलाई प्रदान गरेको हो । 

हिजबुल्लाह समूहले भने उक्त आक्रमण आफूहरूले नगरेको बताउँदै आएपनि इजरायली रक्षा मन्त्री गलान्टले फुटबल मैदानमा भएको रकेट आक्रमणको मुल्य चुकाउनु पर्ने बताउनुभएको छ ।

अमेरिकी विदेशी मन्त्री एन्टोनी ब्लिन्केनले समेत उक्त घटनाको मुख्य दोषी हिजबुल्लाह रहेको बताउनुभएको छ । तर, उहाँले सो युद्धलाई थप भड्किन नदिन अमेरिकाले पहल गरिरहेको समेत स्पष्ट पार्नुभएको छ । 

इजरायली सुरक्षा परिषद्को बैठकपछि इजरायली सेनाले दक्षिण लेबनानको विभिन्न क्षेत्र लक्षित आक्रमण गरेको अल जजीराले उल्लेख गरेपनि उक्त आक्रमणमा कुनै हताहती भए नभएको औपचारिक जानकारी नआएको बताइएको छ । 

इजरायलले गरेको यो आक्रमणले इजरायल र हिजबुल्लाहबीच पूर्ण युद्ध सुरु हुन सक्ने अन्ताराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । लेबनानमा युद्ध भड्किन सक्ने भन्दै लेबनानको मिडल इस्ट एयरलाईन्सले लन्डनबाट आउने ६ वटा फ्लाइटलाई आज बिहान होल्ड गरिदिएको छ । 

त्यस्तै आयरल्यान्ड सरकारले समेत आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न आग्रह गरेको छ भने बेरुतस्थित अमेरिकी दूतावासले समेत आफ्ना नागरिकलाई फ्लाइटको अवस्था बुझेर मात्र भ्रमण गर्न आग्रह गरेको छ । गत वर्षको अक्टोबरमा इजरायल र प्यालेष्टिनी लडाकु समूह हमासविच युद्ध सुरु भएयता हिजबुल्लाह र इजरायली सेनाबीच पनि गोली हानाहानका घटना हुँदै आएका छन् । 

संयुक्त राष्ट्रसंघले एक विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा वृहत् द्वन्द्व सुरु हुन सक्ने खतरा औँल्याउँदै अधिकतम संयमता अपनाउन सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.