ईयुले ‘फ्रिज’ गरेको रुसी कोषको १.६ अर्ब अमेरिकी डलर युक्रेनलाई सहयोग गर्ने

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
ईयुले ‘फ्रिज’ गरेको रुसी कोषको १.६ अर्ब अमेरिकी डलर युक्रेनलाई सहयोग गर्ने

काठमाडौं । युरोपेली संघ (ईयु)ले ‘फ्रिज’ गरेको रुसी कोषको ब्याजबाट प्राप्त १.५ अर्ब युरो (१.६ अर्ब अमेरिकी डलर) युक्रेनलाई सहयोग गर्न उपलब्ध गराउने घोषणा गरेको छ । युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेनले रुसी कोषको ब्याजबाट प्राप्त रकम युक्रेनलाई उपलब्ध गराउने घोषणा गरेकी हुन् ।

युरोपेली संघकी अध्यक्ष उर्सुलाले एक विज्ञप्तिमा जारी गर्दै ईयू सदैव युक्रेनको साथमा रहेको उल्लेख गर्दै आफूहरुले युक्रेनलाई रक्षा र पुनर्निर्माणको लागि ‘फ्रिज’ गरिएको रूसी सम्पत्तिबाट प्राप्त १.५ अर्ब युरो हस्तान्तरण गर्ने विषयमा जानकारी गराएकी छन् । यद्यपि, रूसी कोषको नाफाबाट प्राप्त ब्याजको पहिलो किस्ता हो । जसलाई युरोपेली संघले युक्रेनलाई उपलब्ध गराउने घोषणा गरेको छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि युरोपेली संघले रुसी केन्द्रीय बैंकको सम्पत्तिलाई फ्रिज गरेको थियो । ईयूका २७ सदस्य राष्ट्रहरूले गत मे महिनामा रुसी केन्द्रीय बैंकको सम्पत्तिमा प्राप्त भएको २१० अर्ब युरो (२२५ बिलियन अमेरिकी डलर) को ब्याज युद्धग्रस्त युक्रेनमा सैन्य सहायता र पुनर्निर्माण प्रयासमा खर्च गर्न सहमत भएका थिए । सोही सहमतिलाई निरन्तरता दिँदै संघले युक्रेनलाई रकम उपलब्ध गराउने छ ।

‘फ्रिज’ गरिएको रुसी केन्द्रीय बैंकको सम्पत्तिको अधिकांश रकम बेल्जियममा रहेको अनुमान गरिएको छ । उक्त रकमले प्रत्येक महिना अर्बौं डलरको ब्याज सिर्जना भइरहेको छ । ‘फ्रिज’ गरिएको रूसी सम्पत्तिलाई युक्रेन र युरोपबाहेक अन्यत्र स्थानमा खर्चिन उचित नभएको कारण उक्त रकम युक्रेनलाई हस्तान्तरण गर्ने बताइएको छ ।

रुसले पूर्वी युक्रेनका दुईवटा गाउँहरू पुनः कब्जा गरेको घोषणा गरेको केही दिनपछि संघले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी केन्द्रीय बैंकको सम्पत्ति युरोपेली संघले ‘फ्रिज’ गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा र युरोपेली राष्ट्रले रुसको पैसा चोरेको आरोप लगाउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.