पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अक्सफोर्ड विश्वविद्यालयको कुलपतिको चुनाव लड्ने

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अक्सफोर्ड विश्वविद्यालयको कुलपतिको चुनाव लड्ने

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपतिको चुनावमा लड्न चाहान राखेका छन् । सञ्चार माध्यमका अनुसार खान जेलबाटै अनलाइन उम्मेदवारी दर्ता गरेर कुलपति पदका लागि चुनाव लड्न चाहन्छन् ।

खानले अक्सफोर्ड विश्वविद्यालयबाट शिक्षा हासिल गरेका छन् । यो जानकारी उनका निकट सहयोगी र मिडिया रिपोर्टबाट प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती समाचार ‘द टेलिग्राफ’का अनुसार खानले पाकिस्तानको जेलबाट अक्सफोर्ड विश्वविद्यालयको कुलपति पदका लागि चुनाव लड्नेछन् । खान १० वर्षको जेल सजाय भोगिरहे पनि उनले अनलाइनबाटै चुनाव लड्ने बताइएको छ ।

जनताको इच्छा बमोजिक खानले अक्सफोर्ड विश्वविद्यालयको कुलपतिको पदका लागि चुनाव लड्न चाहेको अखबारले खानका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार र उद्यमी सइद जुल्फी बुखारीलाई उद्धृत गर्दै लेखेका छन् । पहिलो पटक कुलपतिको निर्वाचन अनलाइनबाट हुने भएको छ भने परम्परागत प्रक्रियामा स्नातकोत्तरले पूर्ण शैक्षिक पोसाकमा उपस्थित हुनुपर्ने व्यवस्था छ ।

बेलायती अखबारका अनुसार प्रतिष्ठित कुलपतिको पद विश्वविद्यालयबाट स्नातक गरिसकेकाहरुले मात्र पाउने गर्दछ ।  बेलायती पूर्वप्रधानमन्त्री सर टोनी ब्लेयर र बोरिस जोन्सन पनि विश्वविद्यालयको कुलपति बन्ने रेसमा छन् । यद्यपि खान आफैं वा उनको पार्टी पीटीआईको तर्फबाट कुनै आधिकारिक बयान आएको छैन । क्सफोर्ड विश्वविद्यालयको यो पद २१ वर्षदेखि पदमा रहेका ८० वर्षीय लर्ड प्याटनले राजीनामा दिएपछि रिक्त भएको हो ।

यसअघि सन् २००५ मा खान ब्राडफोर्ड विश्वविद्यालयको कुलपति बनिसकेका छन् । जुन पद उनले सन् २०१४ सम्म सम्हालेका थिए । पूर्वप्रधानमन्त्री खान कैयौं मुद्दामा पक्राउ परेपछि अगस्ट २०२३ देखि जेलमा छन् । पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका संस्थापक खान अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement