पाकिस्तानमा तलबभन्दा बढी बिजुलीको बिल आएको भन्दै प्रदर्शन

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानमा तलबभन्दा बढी बिजुलीको बिल आएको भन्दै प्रदर्शन

काठमाडौं । पकिस्तानको राजधानी इस्लामावादमा प्रमुख इस्लामवादी पार्टी जमात-ए-इस्लामीका समर्थकहरूले मुद्रास्फीति र बिजुली बिलमा बढोत्तरी गरेको विषयमा प्रदर्शन गरेका छन् । उनीहरुले मुद्रास्फीति र सरकारले बिजुली बिलमा बढोत्तरी गरेका कारण इस्लामाबाद स्थित संसद् भवन अगाडि उक्त विषयको खारेजीको माग गर्दै प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै सो पार्टीका समर्थकहरुले रावलपिन्डीमा समेत प्रर्दशन गरेका छन् ।

मुद्रास्फीति र सरकारले बिजुली बिलमा बढोत्तरी गरेको विषयलाई लिएर पाकिस्तानी सरकारको चौतर्फि आलोचना भइरहेको छ । प्रदर्शनकारीहरुले आफूहरुको तलबभन्दा बढी बिजुली बिल आइरहेको प्रति आक्रोश पोख्दै प्रदर्शनमा उत्रिएको बताइएको छ ।

प्रर्दशन चर्कँदै गएपछि स्थानीय अधिकारीहरुले शीर्ष सरकारी कार्यालयहरू, कूटनीतिक एन्क्लेभ र संसद् भवन जस्ता रेड जोनतर्फ जाने सडकहरुलाई ढुवानी कन्टेनरहरूमार्फत अवरोध गरेका थिए । सो अवरोध पार गर्न खोजेपछि प्रहरीले प्रदर्शनकारीहरुलाई पक्राउ गरेको बताइएको छ ।

संसद् भवन अगाडि भएको प्रदर्शनको क्रममा प्रहरी सुरक्षा देखाउँदै थुप्रै प्रदर्शनकारीहरुलाई समेत गिरफ्तार गरेको छ । जमात-ए-इस्लामीका समर्थकहरूलाई राजधानी इस्लामावादको एक क्षेत्रमा प्रवेश गर्नबाट रोकिएपछि त्यहाँ केही मात्रामा दंगा भड्किएको बताइएको छ ।

अधिकारीहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष–आईएमएफले तोकेका शर्तहरू पूरा गर्न विद्युत् शुल्क बढाइएको बताएका छन् । एक र्‍यालीमा जमात-ए-इस्लामी नेता हाफिज नइम उर रहमानले –पाकिस्तानी जनताका लागि न्यायको लागि आह्वान गर्दै बिजुली बिलमा बढोत्तरी गरेको विषयमा सरकार तत्काल पछि हट्नुपर्नेमा जोड दिनुभयो । प्रदर्शनले गति लिएपछि सरकारले जमात-ए-इस्लामी नेतृत्वसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको घोषणा गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement