काठमाडौं । डेमोक्र्याटिक पार्टीकी राष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसले अन्ततः पूर्व राष्ट्रपति बाराक ओबामाको समर्थन पाउनुभएको छ । राष्ट्रपति जो बाइडन अचानक राष्ट्रपतिको उम्मेदवारीबाट पछि हटेपछि ओबामाले त्यस कदमको प्रशंसा गरे पनि ह्यारिसलाई अघि सारेको विषयमा मौन हुनुहुन्थ्यो ।
तर, ओबामा दम्पतीले ह्यारिसलाई सर्मथन जनाएसँगै ह्यारिसको बाटोको अन्तिम बाधा पनि समाप्त भएको छ । पूर्व राष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामाले संयुक्त विज्ञप्ति जारी गर्दै अहिलेको कठिन परिस्थितिले मागे अनुसार ह्यारिससँग भिजन, चरित्र र ताकत सबै भएको उल्लेख गर्दै समर्थन गरेको बताइएको छ ।
ओबामाले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मा ह्यारिसको नाममा सहमतिको सन्देश लेख्दै ह्यारिस अमेरिकाको एक अद्भुत राष्ट्रपति हुने बताउनुभएको छ ।
ओबामाको समर्थनपछि ह्यारिस डेमोक्रेटिक पार्टीबाट एक मात्र र बलियो उम्मेदवार बन्नुभएको छ । राष्ट्रपति बाइडेनले पछि हटेर उपराष्ट्रपति ह्यारिसको नाम अगाडि राखेपछि ह्यारिसलाई पार्टीमा चौतर्फी समर्थन समेत प्राप्त भएको छ । बिल र हिलारी क्लिन्टनसँगै न्यान्सी पेलोसीले पनि ह्यारिसको नामको समर्थन गरिसक्नुभएको छ । पार्टी सहित सम्पूर्णको नजर ओबामाको समर्थनको पर्खाइमा थियो ।
ओबामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुन् । यस दृष्टिकोणले पनि कमलालाई उहाँको समर्थनको ठूलो महत्त्व छ । यदि ह्यारिस चुनावमा ट्रम्पलाई हराएर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएमा ह्यारिस अमेरिकी प्रथम महिला राष्ट्रपतिसँगै पहिलो अश्वेत महिला बन्नु हुनेछ । ह्यारिसको नाम अगाडि आएपछि ट्रम्पको अग्रता रोकिएको छ, पपुलर भोटमा ह्यारिस अगाडि बढेको देखिन्छ ।
प्रजातान्त्रिक नियमावली समितिले तोकेका शर्तका आधारमा अगस्त ८ मा ह्यारिसलाई पार्टीको आधिकारिक उम्मेदवार घोषणा गर्ने निर्णय भएको छ ।