बेलायतका नवनियुक्त विदेशमन्त्री डेविड ल्यामी दुई दिने भारत भ्रमणमा

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेलायतका नवनियुक्त विदेशमन्त्री डेविड ल्यामी दुई दिने भारत भ्रमणमा

काठमाडौं । बेलायतका नवनियुक्त विदेश मन्त्री डेविड ल्यामी दुई दिने औपचारिक भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । यही महिना लेबर पार्टीको तर्फबाट विदेश मन्त्रीको कार्यभार समहाल्नुभएका ल्यामीले आफ्नो पहिलो औपचारिक भ्रमणमा भारतलाई छान्नुभएको हो ।

दुई दिने औपचारिक भ्रमणमा रहनुभएका विदेशमन्त्री ल्यामीले आफ्नो भारतीय समकक्षी एस जयशंकरलाई भेट्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई समकक्षीबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयका महत्वपूर्ण मुद्दासहित निशुल्क व्यापार सम्झौतामाथि गहन छलफल गर्ने बताइएको छ । यसअघि मार्च महिनामा भारतले नर्वे, स्विट्जरल्यान्ड, आइसल्यान्डसँग निशुल्क व्यापार सम्झौता गरिसकेको छ ।

भारत–बेलायत सम्बन्धलाई थप उकास्न विदेशमन्त्री ल्यामी भारतीय कमर्स तथा उद्योगमन्त्री पियुष गोयलसहित अन्य व्यापारीक नेताहरुसँग समेत भेटवार्ता गर्ने कार्यतालिका रहेको बताइएको छ । विश्वको तेस्रो अर्थतन्त्र भएको मुलुक बन्ने रेसमा रहेको भारतसँग सहकार्य बेलायत तत्पर रहेको र भारतसँगको व्यापार सम्झौताले बेलायतलाई समेत आफ्नो अर्थतन्त्र उकास्न मद्दत पुर्‍याउने विश्वास विदेशमन्त्री ल्यामीको रहेको बताइएको छ ।

लेबर पार्टीलाई आगामी दिनमा थप बलियो बन्न बेलायतका व्यापारलाई सुधार गर्न आवश्यक रहेको छ । त्यसका लागि भारतसँगको व्यापार सम्झौतालाई ठोस बनाउन अपरिहार्य रहेको बीबीसीले उल्लेख गरेको छ । १४ वर्षपछि बेलायतको सत्ताबाट कन्जरभेटिभ पार्टीलाई हटाएर लेबर पार्टीले सत्ता सम्हालेको छ । बेलायती प्रधानमन्त्री केयर स्टार्मरको मन्त्री परिषद्‍बाट पहिलो औपचारिक भ्रमण भारत भएको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement