ट्रम्पमाथि गोली प्रहारको घटनाका कारण गोप्य सेवा निर्देशकको राजीनामा

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
ट्रम्पमाथि गोली प्रहारको घटनाका कारण गोप्य सेवा निर्देशकको राजीनामा

काठमाडौं । अमेरिकाको गोप्य सेवा निर्देशक किम्बर्ली चिटलले राजीनामा दिनुभएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी र्‍यालीमा घाइते हुनबाट रोक्न असफल भएपछि उहाँको चौतर्फी आलोचना हुँदै आएको थियो ।

अमेरिकी राष्ट्रपति र पूर्वराष्ट्रपतिहरूको सुरक्षाको मुख्य जिम्मेवार गोप्य सेवाले लिएको छ । जुलाई १३ मा पेन्सिलभेनियाको बटलरमा भएको र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएपछि गोप्य सेवाको कार्य क्षमतामाथि प्रश्न उठेको थियो । यसका निर्देशक चिटलले हाउस अफ रिप्रेजेन्टिभको निरीक्षण समितिमा द्विपक्षीय निन्दाको सामना गर्नुपर्‍यो । 

सांसदहरुलाई पेन्सिलभेनिया र्‍यालीका लागि सुरक्षा योजना बताउन भने उहाँले अस्वीकार गर्नुभयो । अधिकांश रिपब्लिकन र डेमोक्रेटिक सांसदहरूले राजीनामा दिन आग्रह गरेपछि चिटलले राजीनामा दिनुभएको हो । 

सन् २०२२ देखि एजेन्सीको नेतृत्व गरिरहेकी चिटलले सांसदहरुसामु गोलीकाण्डको जिम्मेवारी लिनुभयो । उहाँले यसलाई सन् १९८१ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनलाई गोली हानेपछि गोप्य सेवाको सबैभन्दा ठूलो असफलता भएको पनि स्वीकार्नु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement