भारतले ल्यायो ४८ लाख २० हजार ५ सय करोडको बजेट

नेपाललाई दिने सहयोग राशी ७ अर्ब पुर्‍याउने घोषणा
छिमेकमा सबैभन्दा बढी बजेट भुटानलाई
श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतले ल्यायो ४८ लाख २० हजार ५ सय करोडको बजेट

काठमाडौं । भारतले नेपाललाई दिँदै आएको सहयोग राशीमा ५० करोड रुपैयाँ वृद्धि गरेको छ । सन् २०२३/२४ को बजेटमा भारतले नेपालका लागि ५ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन गरेकोमा संशोधित बजेटमा ६ अर्ब ५० करोड पुर्‍याइएको थियो । आज संसद्‍मा अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०२४/२५ को बजेटमा नेपाललाई दिइने सहयोग राशीमा ५० करोड रुपैयाँ वृद्धि गरी ७ अर्ब पुर्‍याइएको हो ।

भारतले छिमेकलाई दिने सहयोग राशीमा सबैभन्दा बढी भुटानलाई छ । भुटानलाई यसपटक २० अर्ब ६८ करोड छुट्याइएको छ । अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई १ अर्ब २० करोड, माल्दिभ्सलाई ४ अर्ब र म्यानमारलाई २ अर्ब २५ करोड सहयोग घोषणा गरेको छ ।

यस्तै, भारतले विभिन्न राज्यमा सिँचाइ तथा बाढी नियन्त्रणका लागि ११ हजार ५ सय करोड विनियोजन गरेको छ । अर्थमन्त्री सीतारमणले विशेषगरी मुलुकबाहिरबाट आउने बाढीका कारण बिहार प्रभावित हुने गरेको उल्लेख गर्दै बाढी नियन्त्रणका लागि नेपालमा संरचना बनाउने योजना रहेको बताउनु भएको छ ।

अर्थमन्त्री सीतारमणले आर्थिक वर्ष २०२४/२५ का लागि ४८ लाख २० हजार ५ सय १२ करोडको बजेट सार्वजनिक गर्नु भएको हो । बजेटमा रक्षा, कृषि, बेराजगारी, पूर्वाधार, सामाजिक न्याय, ऊर्जा, अनुसन्धान र विकास गरी नौ क्षेत्रलाई प्राथमिकता दिइएको छ । रक्षा क्षेत्रमा ६ दशमलब २१ लाख करोड, कृषिमा १ दशमलब ५२ लाख करोड र स्वास्थ्यमा ९० हजार ९ सय ५८ दशमलब छ-तीन करोड विनियोजन गरिएको छ ।

त्यस्तै शिक्षा र रोजगारीका लागि १५ अर्ब ८० करोड विनियोजन गरिएको छ । केन्द्र सरकारले महिला र बालिकाहरुको विकासका तीन लाख करोड विनियोजन गरेको छ । ग्रामीण क्षेत्रको विकासमा २ दशमलब ६६ लाख करोड भारु विनियोजन गरिएको छ ।

सत्ता गठबन्धनमा आवद्ध नितिशकुमार र चन्द्रबाबु नायडुको क्षेत्रमा समेत बजेट बढाइएको छ । विहारका लागि २६ हजार करोड र आन्ध्र प्रदेशका लागि १५ हजार करोड विनियोजन गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.