अमेरिकाको संसदीय समितिले माग्यो गोप्य सेवा विभागका प्रमुखको राजीनामा

पूर्वराष्ट्रपति ट्रम्पको सुरक्षामा चुकेको निष्कर्ष
श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाको संसदीय समितिले माग्यो गोप्य सेवा विभागका प्रमुखको राजीनामा

काठमाडौं । राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति डनल्ड ट्रम्पको हत्या प्रयासको घटनामा सुरक्षा चुक भएको भन्दै अमेरिकी गोप्य सेवा विभाग प्रमुख किम्बर्ली सिएटलको राजीनामा माग गरिएको छ ।

अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभको ओभरसाइट कमिटीमा करिब साढे चार घण्टा चलेको बहसमा रिपब्लिकन र डेमोक्र्याट सांसदहरुले संयुक्त रुपमा विभागकी निर्देशक किम्बर्ली सिएटलको राजीनामा माग गरेका हुन् ।

उक्त कमिटीका रिपब्लिकन अध्यक्ष जेम्स कोमर र डेमोक्र्याट सदस्य जेमी रस्किनले ट्रम्पको सुरक्षामा चुकेको निष्कर्ष निकाल्दै विभागकी निर्देशकलाई राजीनामा दिन भनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै विभागले ट्रम्प हत्याको विषयमा विस्तृत विवरण सांसदहरुलाई दिन नसकेको समेत समितिले आरोप लगाएको छ ।

ट्रम्पलक्षित आक्रमणमा विभाग चुकेको भन्दै समितिले निर्देशक किम्बर्ली अब उक्त विभागको नेतृत्व गर्न अक्षम रहेको समितिले निश्कर्ष निकालेको छ । त्यसैगरी बहसका क्रममा डेमोक्र्याट सदस्य रस्किनले अमेरिकाको इतिहासको अत्यन्तै जरुरी र संवेदनशील क्षणमा गोप्य सेवा विभागले कंग्रेसको विश्वास गुमाएको बताउँदै तत्काल यसको विकल्प खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

समितिको बैठकमा उपस्थित गोप्य सेवा विभागकी निर्देशक किम्बर्लीले ट्रम्पको सुरक्षामा आफूहरु चुकेको स्वीकार्नुभएको थियो । तर, उहाँले आफू अहिले सो विभागको नेतृत्व गर्न सक्षम रहेकोसमेत दाबी गर्नुभयो । गत जुलाई १३ मा पेन्सिलभेनियामा आयोजित एक चुनावी र्‍यालीमा पूर्वराष्ट्रपति ट्रम्पलाई गोली हानी हत्या गर्ने प्रयास गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.