चौतर्फी दबाब र आलोचनापछि आगामी चुनाव नलड्ने अमेरिकी राष्ट्रपति जो बाइडनको घोषणा

उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन
डेमोक्र्याटिक पार्टीले भने घोषणा गर्न बाँकी
श्रावण ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
चौतर्फी दबाब र आलोचनापछि आगामी चुनाव नलड्ने अमेरिकी राष्ट्रपति जो बाइडनको घोषणा

काठमाडौं । खस्किँदै गएको चुनावी प्रचार र डेमोक्र्याटिक पार्टीभित्रैबाट बढ्दै गएको दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडनले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको दौडबाट पछि हट्ने निर्णय गर्नु भएको छ । उहाँले रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो समर्थन रहने जनाएका छन् ।

८१ वर्षीय बाइडन अमेरिकाको इतिहासमा सबैभन्दा जेष्ठ राष्ट्रपति हुनुहुन्छ भने उहाँको कार्यकाल २० जनवरी २०२५ सम्म रहने छ । नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको दौडबाट पछि हट्ने निर्णय गर्नु भएका बाइडनले यसै साता राष्ट्रको नाममा सम्बोधन गर्ने जनाइको छ । गत साता मात्र कोभिड संक्रमित भएपछि बाइडन अहिले डेलावेयरस्थित आफ्नै घरमा हुनुहुन्छ । 

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा बाइडनले आफू पुनर्निर्वाचित हुन चाहे पनि आफ्नो पार्टी र देशका लागि आगामी चुनावी दौडबाट पछि हटेको उल्लेख गर्नु भएको छ । बाइडनको पछिल्लो निर्णयले यस वर्षको ह्वाइट हाउस दौडमा अर्को नाटकीय मोड ल्याएको छ । 

जुन २७ मा भएको राष्ट्रपतीय बहस-प्रेसिडेन्सियल डिबेटमा डेमोक्र्याट बाइडनको प्रदर्शन निकै कमजोर रहेको थियो भने जुलाई १३ को एक चुनावी सभामा रिपब्लिकन उम्मेदवार ट्रम्पमाथि गोली प्रहार भएको थियो । त्यसयता ट्रम्पले ३९ वर्षीय जे डी भान्सलाई आफ्नो उपराष्ट्रपति उम्मेदवार चयन गर्नु भएको छ । यसअघि अमेरिकामा गरिएको सर्वेक्षण अनुसार अमेरिकी जनता बाइडन र ट्रम्पबीचको अर्को चुनावी प्रतिस्पर्धाप्रति असन्तुष्ट रहेका थिए । 

रिपब्लिकन ट्रम्पले भने चुनावमा बाइडनलाई भन्दा ह्यारिसलाई हराउन सजिलो रहने प्रतिक्रिया दिएका छन् । ह्यारिस डेमोक्र्याटिक पार्टीको आधिकारिक उम्मेदवार भएमा उहाँ अमेरिकी राष्ट्रपति पदका लागि पहिलो अश्वेत एसियन अमेरिकन महिला उम्मेदवार हुनु हुने छ । 

अमेरिकाको दुई शतकको इतिहासमा हालसम्म मात्र एक जना अश्वेत राष्ट्रपति भएका छन् भने अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति भएका छैनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.