प्रजातन्त्रका लागि आफूले गोली खाएको अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको दाबी

हमलापछि मनोबल थप उच्च भएको दाबी
श्रावण ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रजातन्त्रका लागि आफूले गोली खाएको अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार डनल्ड ट्रम्पले आफूले प्रजातन्त्रका लागि गोली समेत खाएको बताउनुभएको छ । उपराष्ट्रपतिका उम्मेदवार ओहाइयोका सेनेटर जेडी भान्ससँगको पहिलो चुनावी सभामा ट्रम्पले गत साता आफूमाथि भएको हमलाले मनोबल झनै उच्च पारेको बताउनुभएको हो ।

ट्रम्पले डेमोक्रेट्सहरुले उहाँलाई प्रजातन्त्रविरुद्धमा रहेको झुटो आरोप लगाएको समेत बताउनुभयो । जुलाई १३ मा बट्लर, पेन्सिलभेनियाको चुनाबी सभामा भएको हमलापछि पहिलो पटक सार्वजनिक र्‍यालीमा सम्बोधन गर्दै ट्रम्पले आफू प्रजातन्त्रका लागि डटिरहने बताउनुभयो । निकै प्रतिष्पर्धात्मक मानिएको मिसिगन राज्यमा उपस्थित समर्थकहरुले ट्रम्पमाथिको पछिल्लो हमलाले खतराको स्थिति रहे पनि उहाँलाई समर्थन गर्न सभाहरुमा उपस्थिति भइरहने बताएका छन्।

केहीले भने गत हप्ताको हमलापछि नै उनीहरु झनै चुनावी सभामा उपस्थित हुन प्रेरित भएको बताएका छन् । ट्रम्प स्थानीय समय ५ बजे मात्र सभालाई सम्बोधन गर्ने भए पनि समर्थकहरु सभा स्थल अगाडी एक रात अघिदेखि नै कुरेर बसेका थिए । १ बजे सभा स्थल बाहिर ५ किलोमिटर लामो लाइन लागिसकेको थियो । 

गत हप्ताको सभा पेन्सिलभेनियाको एक खुल्ला ठाउँमा भएको थियो भने मिसिगनको सभा एक कवर्ड हलमा भएको थियो जसले सुरक्षाकर्मीहरुलाई सभामा उपस्थित सबैमाथि निगरानी राख्न केही सहज भएको थियो । ट्रम्पको अबको चुनावी सभा सार्लोट, नर्थ क्यारोलाइनामा २४ जुलाईमा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.