काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अगामी सातादेखि पुनः चुनावी अभियान सुचारु गर्ने बताउनुभएको छ । स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपतीय चुनावबाट पछि हट्न आफ्नै पार्टीबाट निरन्तर दबाब सिर्जना भएपनि बाइडनले अगामी सातादेखि पुनः चुनावी अभियान सुचारु गर्ने बताउनुभएको हो ।
बाइडनले आफ्ना पार्टीका नेताहरुलाई एक जुट भएर रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पको ‘डार्क भिजन’विरुद्ध लड्न अपिल गर्नुभएको छ । उहाँले ट्रम्पलाई हराउन सक्ने आफूसँग क्षमता र योजना भएको भन्दै सबै डेमोक्र्याटलाई एक जुट हुन आग्रह समेत गर्नुभएको छ । जुनमा ट्रम्पसँगको प्रेसिडेन्सियल डिबेटमा कमजोर प्रस्तुति र स्वास्थ्य अवस्थालाई लिएर हिजो पुनः आठ डेमोक्रेट सासंदहरुले चुनावी दौडबाट पछि हट्न आग्रह गरेका थिए । उक्त विषयमाथि बाइडनले आफूले ट्रम्पलाई हराउन सक्ने प्रतिबद्धता व्यक्त गर्दै चुनावी अभियानमा एक जुट भएर लाग्ने बताउनुभएको थियो ।
डेमोक्र्याट सासंदहरुसँगको भेटमा बाइडनले आफूसँग ट्रम्पलाई हराउन सक्ने योजना प्रशस्त रहेको समेत विश्वास व्यक्त गर्नुभएको थियो । चुनावी अभियानमा एक जुट भएर मात्र ट्रम्पलाई ब्यालेट बक्समा परास्त गर्न सक्ने समेत बताउनुभएको थियो । हाल बाइडनको स्वास्थ्य अवस्थालाई लिएर २ सय ६४ मध्ये ३१ डेमोक्र्याट सासंदले चुनावी दौडबाट पछि हट्न आग्रह गरिसकेका छन् । त्यसैगरी पूर्व सभामुख न्यान्सी पेलोसी र पूर्व राष्ट्रपति बाराक ओबामाले समेत बाइडनलाई चुनावी मैदानबाट पछि हट्न सुझाएका छन् ।
अगामी नोभेम्बरमा हुने राष्ट्रतपीय चुनावमा ट्रम्पलाई बाइडनले पराजित गर्न नसक्ने र त्यस कारण संसदीय चुनावमा पनि असर पर्ने देखिएपछि डेमोक्र्याट सासंदहरुल बाइडनलाई पछि हट्न सुझाइरहेको छन् । तर, बाइडन भने आफू चुनाव लड्न तयार रहेको दृढता व्यक्त गर्दै आउनु भएको छ । उहाँ हाल कारोना संक्रमित भएपछि आफ्नो निजी निवासमा सेल्फ आइसोलेशनमा हुनुहुन्छ । र, त्यहीँबाट आफ्नो काम काज गरिरहनुभएको छ ।