काठमाडौं । वाल स्ट्रिट जर्नलका पत्रकार इभान गेर्शकोविचलाई रुसको एक अदालतले १६ वर्षको कैद सजाय सुनाएको छ । पत्रकार इभानलाई रुसी अदालतले अमेरिकाको लागि रुसमा जासुसी गरेको आरोपमा दोषी ठहर गर्दै १६ वर्षको जेल सजाय तोकेको हो ।
उनलाई मुद्दा चलाउनु अघि नै पूर्व परीक्षणका लागि भन्दै आतंकवादी सरह पक्राउ गरी मस्कोको कुख्यात लेफोर्टोभो जेलमा राखिएको थियो । रुसी अभियोजक जनरलको कार्यालयले गेर्शकोविचलाई पहिलो पटक हिरासतमा राखेको करिब एक वर्षभन्दा बढी समयपछि अभियोग लगाएको थियो ।
गत महिना येकाटेरिनवर्ग शहरस्थित एक अदालतमा उनीविरुद्धको मुद्दा चलाइएको थियो । सोहि मुद्दामा अदालतले अन्तिम फैसला सुनाउँदै उनलाई १६ वर्षको जेल सजाय तोकिएको हो । सजाय सुनाइएपछि ३२ वर्षीय गेर्सकोविचले भने कुनै प्रतिक्रिया दिएनन् । वाल स्ट्रिट जर्नलले उक्त विषयमा आपत्ति जनाउँदै अपमानजनक तरिकाले पत्रकारलाई सजाय सुनाइएको बताएको छ । त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडन, बेलायती प्रधनमन्त्री केइर स्टार्मरलगायत विश्वका अन्य नेताहरुले उनलाई कुनै अपराध विनै सजाय तोकिएका कारण तत्काल रिहा गर्नुपर्ने धारण राखेका छन् ।
शीतयुद्धपछि रुसमा जासुसी गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइने र दोषी ठहरिने उनी पहिलो अमेरिकी पत्रकार हुन् । कुनै व्यक्तिलाई दोषी ठहर नगरेसम्म अन्तर्राष्ट्रिय स्तरमा अदानप्रदान नगर्ने रुसको नीति छ । इभानलाई सजाय सुनाइएपछि बन्दी आदानप्रदान गर्ने मार्ग प्रशस्त भएको छ । तर, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई बन्दी अदानप्रदानको विषयमा सोध्दा उनले जवाफ दिन उचित नरहेको बताएका थिए ।
उनले रुसी कारागारमा एक वर्ष बिताएको सम्झनामा वाल स्ट्रिट जर्नलले आफ्नो पहिलो पृष्ठ खाली राखेको थियो । युक्रेन युद्ध सुरु भएपछि रिर्पोटिङ गर्ने क्रममा रुस पुगेका इभानलाई त्यहाँको मुख्य सुरक्षा सेवा एफएसबीले राज्यको गोप्य सूचनामा जासुसी गरेको आरोप पक्राउ गरेको थियो ।