संसद्‌मा प्रधानमन्त्री नेतन्याहुद्वारा हमासविरुद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता, विपक्षीको आलोचना

श्रावण ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसद्‌मा प्रधानमन्त्री नेतन्याहुद्वारा हमासविरुद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता, विपक्षीको आलोचना

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सदनमा पूर्ण विजय नभएसम्म चरमपन्थी समूह हमासविरुद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गरेपछि विपक्षी सांसदहरूले आलोचना गरेका छन् । यही विषयलाई लिएर संसद्‌मा आरोप-प्रत्यारोप चलेको छ ।

विपक्षी सांसदहरुले प्रधानमन्त्री नेतान्याहुले युद्ध व्यवस्थापन र गाजामा नौ महिनाभन्दा बढी समयदेखि बन्दी बनाएका करिब १२० बन्धक रिहा गर्ने सम्झौतामा ढिलाइ गरेको आरोप लगाए । नेतन्याहुले जुलाई २४ मा वासिंटन भ्रमणका क्रममा अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले तल्लो सदन र सिनेटको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।

यही विषयलाई लिएर विपक्षी नेता यायर लापिडले नेतान्याहुलाई युद्धविराम सम्झौता नभए वासिंटनको आफ्नो यात्रा रद्द गर्न भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने र गाजामा आफ्नो देशको युद्धबारे अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ ।

गाजा युद्धको बीचमा अमेरिकाले इजरायललाई कूटनीतिक र हतियार उपलब्ध गराउने दुवैमा बलियो समर्थन कायम राखेको छ भने बाइडनले केही अवसरमा इजरायलको आचरणबारे चिन्तासमेत व्यक्त गर्दै आउनुभएको छ ।

रिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमासविरुद्धको लडाइँमा इजरायललाई समर्थन गरेका छन् तर नेतन्याहुले द्वन्द्वको व्यवस्थापन गर्न नसकेको भन्दै आलोचनासमेत गर्दै आएका छन् ।

कतारको दोहामा वार्ताको पहल भए पनि इजरायली सेनाले गाजामा आफ्नो आक्रमणलाई तीव्रता दिँदै आएको छ । मध्यस्तताका बीच जारी आक्रमणले इजरायलले युद्धविरामसम्बन्धी सम्झौता गर्न नचाहेको हमासले आरोप लगाउँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.