काठमाडौं । रुस र युक्रेनले दुवै तर्फबाट हिजो ९५ जना युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्सले मध्यस्थकर्ताको रूपमा काम गरेपछि रुस र युक्रेनले दुवै तर्फबाट ९५ जना युद्धबन्दी आदानप्रदान गरेको रुसको रक्षा मन्त्रालय र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जनाएका हुन् ।
रुसको रक्षा मन्त्रालयले टेलिग्राम मेसेजिङ एपमा एक विज्ञप्ति जारी गर्दै स्वदेश फर्किएका रुसी सैनिकहरूलाई स्वास्थ्य परीक्षण र शारीरिक तथा मनोवैज्ञानिक उपचारका लागि मस्को लगिने बताएको छ । मुक्त गरिएका सेनाहरूले युक्रेनी बन्दीमा ‘मृत्यु खतरा’को सामना गर्नुपरेको समेत रुसी मन्त्रालयले बताएको छ ।
यता, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रिहा गरिएका युक्रेनी बन्दी युक्रेनी सशस्त्र बल, राष्ट्रिय गार्ड र सीमा सुरक्षा सेवाका सदस्य रहेको बताएका छन् । जेलेन्स्कीले युनाइटेड अरब इमिरेट्सलाई मध्यस्थकर्ताका भूमिका निर्वाह गर्दै युद्धबन्दी आदान-प्रदान सहज बनाउन सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ ।
विगत सात हप्तामा तेस्रो पटक यस्ता प्रकारका युद्धबन्दी आदानप्रदान भएको बताइएको छ । त्यस्तै जुनमा यूएईकै मध्यस्तताको पहलमा दुवै तर्फबाट ९० जना युद्धबन्दी आदान प्रदान गरिएको थियो । दुवै तर्फबाट युद्ध भने अहिलेसम्म जारी नै रहेको छ । युक्रेनलाई पश्चिमा मुलुकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि रुस झन चिढिएको र थप आक्रमक शैली अपनाएको छ ।