चीनको जिगोङ सहरमा एक सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु

श्रावण ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
चीनको जिगोङ सहरमा एक सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु

काठमाडौं । दक्षिणपश्चिम चीनस्थित सिचुआन प्रान्तको जिगोङ सहरमा रहेको १४ तले एक सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । आगलागीमा परी फसेका थुप्रै मानिसहरु मलको बालकनीमा जम्मा भएका थिए ।

दमकल विभागले घटनास्थलमा करिब तीन सय आपतकालीन उद्धारमा खटिने कर्मचारी र एम्बुलेन्ससहित दर्जनौं सवारी साधन पठाएपछि करिब ३० जनालाई आगोबाट बचाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उक्त मलमा लागेको आगोलाई दमकल विभागका कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

निर्माण कार्य जारी रहेको कारण उक्त मलमा आगलागी भएको प्रारम्भिक अनुसन्धाले देखाएको छ । चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उद्धारकर्मी र प्रान्तीय अधिकारीहरूलाई आगलागीको ठोस कारण पत्ता लगाउन आग्रह गरेको छ ।

जनवरीमा दक्षिणपूर्वी चीनस्थित रहेको भवनमा आगलागी हुँदा कम्तिमा ३९ जनाको मृत्यु भएको थियो भने केही दिनपछि मध्य हेनान प्रान्तको एउटा बोर्डिङ स्कुलमा आगलागी हुँदा १३ बालबालिकाको मृत्यु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.