काठमाडौं । पूर्वी अफगानिस्तानमा भारी वर्षापछिको बाढीका कारण ४७ जनाको मृत्यु भएको छ । बाढीमा परी करिब चार सय व्यक्तिहरु घाइते भएको त्यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । थुप्रै घरहरु बाढीले ध्वस्त पारेकाले हजारौँ मानिसहरु घरबारविहीन बनेका छन् ।
बाढीले उक्त प्रान्तको विद्युतीय संरचनालाई ध्वस्त पारेको छ जसले गर्दा त्यहाँका मानिसहरु अन्धकारमा बस्न बाध्य छन् । त्यस्तै उक्त क्षेत्रमा रहेका खेती योग्य जमिनलाई समेत बाढीले क्षति पुर्याएको छ । आफ्गानिस्तानको प्रान्तीय सरकारले उद्धार र राहत कार्य जारी राखेको बताइएको छ ।
अफगानिस्तानको मौसम विज्ञान महाशाखाले आगामी दिनमा भारी वर्षा, हावा र बाढीको प्रकोप बढ्न सक्ने भन्दै नागरिकलाई सचेत हुन आग्रह गरेको छ । त्यस्तै आफ्गानिस्तानका राहतमा खटिने सरकारी निकायले अन्तर्राष्ट्रिय समुदायलाई राहत सहयोगको आग्रह समेत गरेको छ ।