पेन्सिलभेनियाको चुनावी र्‍यालीमा गोली चल्दा घाइते बनेका ट्रम्पको अवस्था सामान्य

राष्ट्रपति बाइडनद्वारा घटनाको निन्दा
असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेन्सिलभेनियाको चुनावी र्‍यालीमा गोली चल्दा घाइते बनेका ट्रम्पको अवस्था सामान्य

काठमाडौं । गोली लागेर घाइते हुनु भएका अमेरिकी पूर्वराष्ट्रपति डनल्ड ट्रम्प अस्पतालमा उपचार गराई न्यूजर्सीस्थित आफ्नो निवास फर्किनु भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

स्थानीय समयअनुसार शनिवार साँझ पेन्सलभेनियाको बटलर सहरमा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्दै गर्दा ट्रम्पमाथि गोली प्रहार भएको थियो । हत्या गर्ने उद्देश्यले ट्रम्पमाथि गोली प्रहार भएको संघीय जाँच ब्युरो, एफबीआईले बताएको छ । 

ट्रम्पको दायाँ कानमा गोली लागेको थियो । ट्रम्पलाई गोली प्रहार गर्ने २० वर्षीय थोमस म्याथु क्रुक्सको भने गुप्तचर सेवाका सुरक्षाकर्मीले हानेको गोली लागेर  मृत्यु भएको एफबीआईले जनाएको छ । गोली लागेर कार्यक्रममा सहभागी अन्य एक व्यक्तिको पनि मृत्यु भएको  छ भने थप दुई जना गम्भीर घाइते छन् । 

एक जना प्रत्यक्षदर्शीले गोली चल्नु केही समयअघि राइफल बोकेका एक जना बन्दुकधारीलाई कार्यक्रमस्थल नजिकैको घरको छतमा घिस्रिएर अघि बढिरहेको देखेको बीबीसीलाई बताएका छन् । आक्रमणकारीले प्रहार गरेको गोली लागेगत्तै ट्रम्प पोडियम पछाडि लड्नु भएको थियो । पछि फेरि उठेर ट्रम्पले समर्थकलाई मुठ्ठी उचालेर अभिवादन गर्नुभएको थियो । 

सामाजिक संजालमा पोस्ट गर्दै ट्रम्पले आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताउनु भएको छ । राष्ट्रपति जो बाइडनले ट्रम्पलाई टेलिफोन गरी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । बाइडनले चुनावी सभामा भएको हिंसाको भर्त्सना गर्नुभएको छ भने ट्रम्प सुरक्षित रहनु भएकोमा कृतज्ञता व्यक्त गर्नुभएको छ ।

आफ्नो गृहराज्य डेलावेयरमा सप्ताहान्त बिताउने पूर्वयोजना त्यागेर बाइडन ह्वाइट हाउस फर्किनु भएको सीएनएनले उल्लेख गरेको छ । विश्वका नेताहरूले पनि ट्रम्पमाथि भएको आक्रमणको भर्त्सना गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.