फ्रान्समा वामपन्थी दल जिततर्फ अग्रसर रहेको एक्जिट पोलको दाबी

दोस्रो चरणको मतदानमा चरम दक्षिणपन्थी दललाई धक्का
असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
फ्रान्समा वामपन्थी दल जिततर्फ अग्रसर रहेको एक्जिट पोलको दाबी

काठमाडौं । फ्रान्समा संसदीय निर्वाचनअन्तर्गत हिजो सम्पन्न भएको दोस्रो तथा निर्णायक चरणको मतदानको मतगणना जारी छ ।

दोस्रो विश्वयुद्धयता पहिलो पटक चरम दक्षिणपन्थी दलले बहुमत ल्याएर ऐतिहासिक जित दर्ता गर्नबाट चुकेको एक्जिट पोलले देखाएको छ । एक्जिट पोलका अनुसार वामपन्थी दल न्यु पपुलर फ्रन्ट-एनएफपी जिततर्फ अग्रसर छ । 

यो सँगै मरिन ली पेन र जोर्डन बर्डेलाको चरम दक्षिणपन्थी तथा आप्रवासन विरोधी दल ‘नेसनल र्‍याली-आरएन’ ले पहिलो पटक सरकारको नेतृत्व गर्ने अवसर गुमाउने देखिएको छ ।  ५ सय ७७ सदस्यीय संसद्मा बहुमतका लागि २ सय ८९ सिट जित्नुपर्छ । तर, एक्जिट पोलका अनुसार दोस्रो चरणको मतदानपछि बामपन्थी दल-एनएफपीले १ सय ७५ देखि २ सय ५ सिट जित्ने आकलन गरिएको छ । 

त्यस्तै राष्ट्रपति इम्यानुएल म्याक्रोँको सत्तारुढ गठबन्धन अनसम्बलले १ सय ५० देखि १७५ सिटमा जित हासिल गर्नेछ भने ‘नेसनल र्‍याली–आरएन’ले १ सय १५ देखि १ सय ५० सिटमा जित हासिल गर्नेछ । एक्जिट पोलको प्रक्षेपण अनुसार संसद्मा कुनै पनि दलको एकल बहुमत आउने छैन ।  

गत आइतबार भएको पहिलो चरणको मतदानमा आरएनले एकतिहाइ मत प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेको थियो । वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्ट एनएफपी दोस्रो र राष्ट्रपति इम्यानुएल म्याक्रोँको सत्तारुढ गठबन्धन अनसम्बल तेस्रो स्थानमा रहेका थिए । तर, पहिलो चरणमा आरएनले ल्याएको भारी मतबाट त्रसित एनएफपी र अनसम्बलले एक–अर्कालाई सघाउने सहमति गरेका थिए । सोही सहमतिअनुसार दोस्रो चरणमा यी दुवै गठबन्धन मिलेर लड्दा चरम दक्षिणपन्थी दल आरएन ऐतिहासित जितबाट विमुख भएको हो ।  

अन्तिम मतपरिणाम भने केहि बेरमा सार्वजनिक हुने बताइएको छ । आजै वर्तमान प्रधानमन्त्री ग्याब्रियल अटालले राष्ट्रपति म्याक्रोंलाई राजीनामा दिने तयारी थाल्नुभएको छ भने राष्ट्रपतिले न्यु पपुलर फ्रन्ट एनएफपीलाई सरकार बनाउन अवसर दिने बताइएको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले संसद्को कार्यकाल करिब तीन वर्ष बाँकी रहँदै संसद् विघटन गरी निर्वाचनको आह्वान गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement