एकातिर सडक बनाउँदा अर्कोतिर भासिएपछि मेची राजमार्गको राजदुवाली खण्डमा विकल्प खोजिँदै

आश्विन २०, २०८१ |विप्लव भट्टराई
एकातिर सडक बनाउँदा अर्कोतिर भासिएपछि मेची राजमार्गको राजदुवाली खण्डमा विकल्प खोजिँदै

इलाम । लामो समयदेखि सडक भासिने समस्या रहेको मेची राजमार्गको इलाम राजदुवाली सडक खण्डमा थप जोखिम बढेपछि विकल्प खोज्नु पर्ने अवस्था देखिएको छ ।

झापातर्फबाट आउने सवारी साधन माइखोलामा र इलाम बजारबाट जाने सवारी साधन पहिरोभन्दा माथिपट्टिको सडकमा थुप्रिएका छन् । अहिले झापातिरबाट आएका सवारीले माईखोलाबाट र इलामतिरबाट गएका सवारी साधनले पहिलोभन्दा माथिल्लो क्षेत्रबाट यात्रुलाई सेवा दिँदै छन् ।

वर्षौदेखि जोखिम बढ्दै गएको यस सडकखण्डको विकल्प समयमै नखोजिएका कारण यो समस्या आएको भन्दै स्थानीय आक्रोशित छन् ।

इलामको माईखोला छेउमा शुक्रबार दिउँसो अवरुद्ध भएको सडक मर्मत गर्ने क्रममा थप जटिलता देखिएपछि वैकल्पिक मार्ग खोज्नु पर्ने अवस्था आएको हो । आइतबार सडक खुलाउने तयारी भए पनि मर्मत भइरहेको भन्दा माथि रहेको सडक नै लच्कन थालेकाले जोखिम बढेको भन्दै शनिबार साँझै काम रोकिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरूले रातभर काम गर्ने योजना बनाएका थिए । त्यहाँको अवस्थाको थप अध्ययन गरेर मात्र सडक मर्मत गर्ने या नगर्ने निर्णय भन्ने निर्णयमा पुगिने डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताउनुभयो । यसअघि नै ठूला सवारीका साधन बन्द गर्नु पर्ने अवस्थामा पुगेको सडक एक दिनमा प्रस्ट रूपमा जोखिम देखिने गरि लच्कन थालेपछि राजमार्गको विकल्प खोज्नु पर्ने अवस्था आएको हो ।

तत्काललाई इलाम नगरपालिका १० शिलपुर सिमलगोलाईबाट तिल्केनी जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम बढाए केही दिनमा साना सवारी साधन गुडाउन सक्ने अवस्था आउने डिभिजन प्रमुख भट्टराईको भनाइ छ । करिब १२ किलोमिटर दुरी रहेको यो सडकको माईखोलामा पक्की पुल भए पनि जोगमाई खोलामा पुल छैन । त्यहाँको विद्युत् आयोजना सञ्चालन गरेर खोलाको बवाह कम गर्दै अस्थायी रुपमा यातायात सञ्चालन गर्न सकिने अवस्था भने रहेको स्थानीयले बताएका छन् ।

यो सडक सञ्चालनमा आउँदा सिमलगोलाईदेखि माईखोला गोलाखर्क भन्ज्याङ हुँदै इलाम बजारसम्मको १६ किलोमिटर सडक मेची राजमार्गको रुपमा प्रयोगमा आउने छैन । झापाको दुर्गापुरबाट माई नगरपालिका हुँदै इलाम बजार जोड्ने निर्माणाधीन सडकलाई पनि तत्कालको विकल्पको रुपमा प्रयोग गर्दै चाँडो निर्माण पूरा गर्नु पर्ने माग स्थानीयको छ ।

दशैँको मुखमा अवरुद्ध मेची राजमार्ग खुल्ने निश्चित नहुँदा समस्या यात्रुले कष्ट झेल्ने मात्र हैन अरू समस्या पनि थपिँदै गएका छन् । एक साता भन्दा अघिदेखि ठूला सवारीका साधन नचल्दा उपभोग्य सामाग्री र उत्पादित सामग्री ल्याउन लैजान समस्या भएको छ । इलाममा पेट्रोलियम पदार्थको अभाव भइसकेको छ ।

त्यहाँ सडक अवरुद्ध भएपछि अहिले फिक्कलबाट गुप्ती नाम्सालिङ हुँदै साना गाडी र मोटरसाइकल आउजाउ गरिरहेका छन् । दुरीको हिसाबले केही किलोमिटर मात्रै लामो भए पनि सो सडकखण्डको गुप्तीदेखि इलाम बजारसम्मको करिब २५ किलोमिटर क्षेत्र कच्ची छ ।

सडक अवरुद्ध हुँदा इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराईसम्म आउजाउ गर्ने यात्रुसहित सामग्री ल्याउन लैजान कठिन देखिएको छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement