एभरेस्ट महिला भलिबल लिगमा अपराजित रहँदै कर्णाली यस्वीज बन्यो च्याम्पियन

ललितपुर क्विन्स पाँच सेटमा पराजित
आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एभरेस्ट महिला भलिबल लिगमा अपराजित रहँदै कर्णाली यस्वीज बन्यो च्याम्पियन

काठमाडौं । अपराजित रहँदै कर्णाली यस्वीजले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ । दशरथ रंगशालाको कभर्डहलमा गएराति भएको फाइनल खेलमा ललितपुर क्विन्सलाई ५ सेटमा हराउँदै कर्णाली च्याम्पियन बनेको हो ।

खेलको पहिलो सेट र दोस्रो सेटमा जित दर्ता गरेपछि कर्णाली २-शून्यको सहज अवस्थामा पुगेको थियो । सुरुआतबाटै अग्रता बनाएको कर्णालीले १५-११ ले अघि रहँदै पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पर्‍यो । दोस्रो सेटमा पनि कर्णालीले ललितपुरलाई हाबी हुन दिएन । उसले १६-९ को अग्रता बनाएर २५-२० को जित दर्ता गरेको हो । 

तेस्रो सेटमा भने ललितपुरले नाटकीय कमब्याक गर्‍यो । प्रतिस्पर्धात्मक सुरुआत भएको सेटमा ललितपुरले १५-७ र १९-९ को अग्रता बनाएको थियो । कर्णालीको कमब्याकको कुनै प्रयास सफल हुन नसकेपछि २५-१२ को फराकिलो अन्तरले पराजित हुन पुग्यो । 

चौथो सेटमा ललितपुर २५-१८ को जित निकाल्न सफल भयो । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको अन्तिम सेटको मध्यान्तरमा ललितपुर ८-६ ले अघि थियो । त्यसपछि ११-११ मा ललितपुरलाई भेटेको कर्णाली १५-१३ को जितसहित च्याम्पियन बनेको हो । कर्णालीले प्रतियोगिताका सबै खेलमा जित दर्ता गरेको थियो । कर्णालीमा अनुबन्ध भएका नेपाली खेलाडी कमै अनुभवी भए पनि उसले उपाधि जित्यो । 

कर्णालीले लिग चरणको खेलमा पनि ललितपुरलाई हराएको थियो । च्याम्पियन कर्णालीले नगद सात लाख र उपविजेता ललितपुरले तीन लाख पुरस्कार प्राप्त गरे । कर्णालीकी जेनेप सर्वोत्कृष्ट खेलाडी बनिन्  ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement