लेबनानमा इजरायली आक्रमण जारी

द्वन्द्वग्रस्त क्षेत्रमा नजान उद्धारकर्तालाई इजरायलको निर्देशन
आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
 लेबनानमा इजरायली आक्रमण जारी

काठमाडौं । इजरायलले आज पनि लेबनानको राजधानी बेरुतस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आक्रमण जारी राखेको छ । लेबनानबाट आफ्ना नागरिकलाई स्वदेश लैजान विभिन्न मुलुकका चार्टर विमानहरु विमानस्थलमा अवतरण भइरहेका बेला इजरायलले गरेको हो ।

यसैबीच दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट ध्वस्त भएका भवनहरूको भग्नावशेषमा पुरिएकाहरूलाई उद्धार गर्न जाने टोलीलाई समेत इजरायलले नजान चेतावनी दिएको बीबीसीले जनाएको छ ।

लेबनानको सिभिल डिफेन्सले पनि इजरायली सेनाले आक्रमण गर्ने धम्की दिएको भन्दै ठूलो क्षति भएको क्षेत्रमा जाने उद्धारकर्तालाई सचेत गराएको छ। इजरायलले ७२ घण्टाभित्र यस क्षेत्रमा जाने कुनै पनि टोलीमाथि आक्रमण हुनसक्ने चेतावनी दिएको हो ।

इजरायलले स्वास्थ्यकर्मी र उद्धार टोलीमाथि आक्रमण गरेको बताइएको छ। लेबनानका स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ९७ जनाको मृत्यु भएको र १ सय ८८ जना घाइते भएको बताएको छ ।

यसैबीच इरानी विदेशमन्त्री अब्बास अराक्चीले लेबनानमा युद्धविरामका लागि हुने प्रयासमा हिजबुल्लाह सहमत भएमात्र आफूहरूले समर्थन गर्ने बताउनुभएको छ । यसमा गाजा युद्ध विराम पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement