दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा गरिँदै

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा गरिँदै

काठमाडौं । बडा दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । नवरात्र सुरु भएसँगै हरेक दिन शक्ति पीठ र देवी मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा आज कुष्माण्डा माताको पूजा गरिन्छ ।

उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको शास्त्रीय मान्यता छ । सारा प्राणीको सिर्जना शक्ति भएकी कुष्माण्डा देवीको शरिरको वर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी तथा देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठहरूमा विशेष पूजाआराधना तथा दर्शन गर्ने भक्तजनको घुइँचो लाग्छ । काठमाडौं उपत्यकाका भद्रकाली, महालक्ष्मी, मैतीदेवी, गुह्यश्वरी लगायतका मन्दिरमा देवीको दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुँइचो छ ।

त्यस्तै उपत्यका बाहिर नेपालगञ्जको बागेश्वरी, सुर्खेतको देउती बज्यै, अर्घाखाँचीको सुपादेउराली, सल्यानको खैरावाङ भगवाती, दाङको अम्बिकेश्वरी, डडेलधुराको उग्रतारा, बागलुङको कालिका भगवतीलगायतका देवीका पीठहरूमा पनि ठूलो सङ्ख्यामा दर्शनार्थीहरू पुग्ने गर्छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement