अमेरिकाको ‘प्रेसिडेन्सियल डिबेट’ : बाइडन-ट्रम्प आमनेसामने

असार १३, २०८१ |प्रभात सिंह
अमेरिकाको ‘प्रेसिडेन्सियल डिबेट’ : बाइडन-ट्रम्प आमनेसामने

काठमाडौं । आउँदो नोभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचनको सरगर्मी बढिरहेकै बेला अमेरिकी मतदाता २ उम्मेदवारबीच हुन लागेको प्रत्यक्ष बहस- प्रेसिडेन्सियल डिबेट उत्साहका साथ पर्खिरहेका छन् । 

डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको कार्यकारी पदमा रहेका ८१ वर्षीय जो बाइडन हुनुहुन्छ भने  रिपब्लिकन पार्टीको तर्फबाट ७८ वर्षीय पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा हुनुहुन्छ । चुनाव हुनुभन्दा ४ महिनाअघि आज हुन लागेको यो प्रेसिडेन्सियल डिबेटमा दुई उम्मेदवारले कस्ता मुद्दा अघि सार्छन् भन्ने चासो त छँदै छ, प्रेसिडेन्सियल डिबेटका लागि तय गरिएका नयाँ नियमहरूका कारण पनि यो बहस रोचक हुने अनुमान गरिएको छ । 

राष्ट्रपतीय चुनावको आसपास हुँदै आएको चुनावी बहस यसपालि सन् १९६० पछि पहिलो पटक चार महिना अघि हुन लागेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले चुनावी बहसको आयोजना गरेको छ । चुनावी बहस एटलान्टा, जर्जियास्थित सीएनएनको स्टुडियोमा स्थानीय समय अनुसार राति ९ बजे सुरु हुनेछ । त्यस्तै अर्को बहस एबीसी नेटवर्कले १० सेप्टेम्बरमा आयोजना गर्ने छ ।

सीएनएनले बिहीबार आयोजना गर्ने चुनावी बहसमा सीएनएनको तर्फबाट प्रस्तोता जेक ट्यापर र डाना ब्यासले कार्यक्रम सञ्चालन गर्नेछन् । बहस करिब ९० मिनेट चल्नेछ । चुनावी बहसअघि दुई उम्मेदवार मध्ये एकले सिक्का उचालेर आफू कुन स्थानमा बस्ने भनेर तय गर्नेछन् । बहसका दौरान दुई उम्मेदवार उभिनु पर्ने नै हुन्छ तर, बाइडनले आफ्नो उमेरको ख्याल गरी कुर्सीको समेत माग गर्नुभएको छ । 

दुई उम्मेदवारलाई कापी, कलम, पानीको बोतल प्रदान गरिनेछ तर, उनीहरूले कुनै पनि पूर्व तयारी गरेर कुनै पनि कुरा लेखेर ल्याउन भने पाउने छैनन् । बहसका बेला उनीहरूले कसैसँग कुरा गर्न पाउने छैनन् ।

यस पटकका राष्ट्रपति दुवै उम्मेदवार केही विवादित छन् । ट्रम्प हस मनी ट्रायलमा दोषी ठहरिएका छन् भने बाइडनका छोरा हन्टर बाइडन लागु औषध सेवन गरी हतियार किनेको मुद्दामा मुछिएका छन् । जस कारण बाइडनलाई चुनावमा असर पर्ने आकलन गरिएको छ । उता ट्रम्प दोषी ठहरिए पनि उनको लोकप्रियतामा कमी भने नआएको अध्ययनहरूले देखाएका छन् ।

यस पटकको चुनावमा केही महत्त्वपूर्ण मुद्दाहरू जस्तै आप्रवासी नीति, गर्भपतन, आणविक सम्झौता, समलिंगी नीति, रुस युक्रेन युद्ध, ताइवान, तिब्बत, गाजा-इजरायल युद्ध, बन्दुक सम्बन्धी कानुनहरू रहेका छन् ।

सन् २०२० मा पनि यी दुई प्रतिस्पर्धी उम्मेदवारबीच दुई पटक बहस भएको थियो जसमा दुईबीच निकै चर्काचर्की परेको थियो । आउने निर्वाचनअघि हुने उम्मेदवारहरुबीचको यो बहसले चुनावी सरगर्मी बढाउने आकलन गरिएको छ ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement