दक्षिण इटालीमा आप्रवासी चढेका दुई पानीजहाज दुर्घटना हुँदा एकै परिवारका ११ जनाको मृत्यु

२६ बालबालिकासहित ६० जना बेपत्ता
असार ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिण इटालीमा आप्रवासी चढेका दुई पानीजहाज दुर्घटना हुँदा एकै परिवारका ११ जनाको मृत्यु

काठमाडौं । दक्षिण इटालीमा एकै दिन दुई वटा पानीजहाज दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ बालबालिकासहित ६० जना बेपत्ता भएको बताइएको छ ।

जर्मन परोपकारी संस्था आरईएसक्यू-सिपका अनुसार लिबियाबाट आप्रवासी बोकेर इटलीतर्फ जाँदै गरेको पानीजहाज लाम्पेदुसा टापु नजिक डुब्दा ११ जनाको मृत्यु भएको हो । त्यस्तै टर्कीबाट इटाली जाँदै गरेको अर्को पानीजहाज दक्षिण इटालीस्थित कालाब्रिया कोस्टमा डुब्दा ६० जना बेपत्ता भएका छन् । तीमध्ये २६ जना बालबालिका रहेको बताइएको छ । 

सो जहाज करिब आठ दिनअघि टर्कीबाट हिँडेको थियो र तीन दिनदेखि फेला पर्न सकेको थिएन । 

संयुक्त राष्ट्रसंघीय निकायहरुका अनुसार  अफगानिस्तान, सिरिया, इजिप्ट, बांगलादेश र पाकिस्तानका आप्रवासी चढेका जहाज दुर्घटनामा परेका हुन् । मृत्यु हुने ११ जना एकै अफगानी परिवारका रहेको अनुमान गरिएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको उद्धार कार्यमा खटिएका अधिकारीहरूले जनाएका छन् । अवैध तरिकाले युरोप प्रवेश गर्ने क्रममा उनीहरू दुर्घटनामा परेको बताइएको छ । 

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार सन् २०१४ यता अवैध रूपमा युरोप प्रवेश गर्ने क्रममा करिब २३ हजार मानिसको समुद्रमा डुबेर ज्यान गइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.