इजरायल सरकारले बनाएको युद्ध मन्त्रिपरिषद् विघटन

प्रधानमन्त्री नेतन्याहुसहितका केही मन्त्रीलाई युद्धबारे निर्णय गर्ने अधिकार
असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायल सरकारले बनाएको युद्ध मन्त्रिपरिषद् विघटन

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विपक्षी गठबन्धनलाई समेटेर तयार पारिएको ६ सदस्यीय युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन् । हमाससँग युद्ध सुरु हुनुअघिको ६ दलीय वृहत मन्त्रिपरिषद् भने यथास्थितिमै रहेको छ ।

गत वर्षको अक्टोबर ७ हमासले इजरायलमाथि आश्चर्यजनक रुपमा गरेको आक्रमणपछि हमासविरुद्धको सैन्य अभियानलाई राष्ट्रिय सहमतिका साथ अघि बढाउन नेतन्याहुले अक्टोबर ११ मा युद्धमन्त्रिपरिषद् गठन गरेका थिए । विपक्षी गठबन्धन नेशनल युनिटीका नेता बेनी ग्यान्ट्ज र उनका सहयोगी गाडी आइजेनकोटले युद्धपछिको गाजाको व्यवस्थापनबारे ठोस योजना अघि नसारेको भन्दै करीब एक साताअघि मात्रै युद्ध मन्त्रिपरिषद्‍बाट राजीनामा दिएका थिए । दुवै जना पूर्व सेना प्रमुख हुन् ।

विपक्षी गठबन्धनका दुवै नेता बाहिरिएपछि युद्धमन्त्रिपरिषद्को आवश्यकता देखिएको थिएन भने सत्ता गठबन्धनमा रहेका चरम दक्षिणपन्थी मन्त्रीहरुले आफूहरुलाई पनि समावेश गरी नयाँ युद्धमन्त्रिपरिषद् बनाउन दबाब दिँदै आएका थिए । चरम दक्षिणपन्थीहरुलाई युद्ध मन्त्रिपरिषद्‍मा समावेश गरेको अवस्थामा गाजा युद्धमा अपनाएको रणनीतिलाई लिएर अमेरिका र अन्य सहयोगी देशसँग सिर्जित तनाव थप चर्किने सम्भावना रहन्थ्यो ।

युद्धमन्त्रिपरिषद् भङ्गभएपछि अब हमाससँगको युद्धजस्तो संवेदनशील विषयमा एकातिर राष्ट्रिय सहमति देखिने छैन भने अर्कोतिर केही सीमित मन्त्रीसँगको परामर्शपछि नेतन्याहुले यस विषयमा निर्णय लिनेछन् ।

प्रधानमन्त्री नेतन्याहुमाथि बन्धकहरुको रिहाइ सुनिश्चित गर्ने गरी हमाससँग सहमति गर्न नागरिक तहबाट दबाब बढ्दै गएको छ । यस्तो अवस्थामा गाजा युद्ध सम्बन्धमा नेतन्याहुले आगामी दिनमा लिने निर्णयले युद्धमन्त्रिपरिषद् विघटनको वास्तविक प्रभावलाई दर्शाउने अन्तरराष्ट्रिय समाचारमाध्यमले टिप्पणी गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.