रुसले सेना फिर्ता गरे शान्ति वार्ता गर्न युक्रेन तयार

दुवै देशबीच वार्ताको पहल गर्न युरोपेली राष्ट्रहरू सहमत
भारतलगायत मुस्लिम देशहरू भने असहमत
असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुसले सेना फिर्ता गरे शान्ति वार्ता गर्न युक्रेन तयार

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी क्षेत्रबाट रुसले आफ्नो सेना फिर्ता गरे शान्ति वार्ता गर्न आफू तयार रहेको बताउनुभएको छ ।

यसअघि युक्रेनमा युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको युद्धविराम सम्बन्धी सर्तलाई इटाली र जर्मनीले कडा रूपमा अस्वीकार गरे पनि शान्तिका लागि स्विट्जरल्यान्डमा आयोजित दुई दिने शिखर सम्मेलनको बन्द सत्रमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस्तो संकेत गर्नुभएको हो ।

रुसी राष्ट्रपति पुटिनले सैन्य वा कूटनीतिक माध्यमबाट युद्ध अन्त्य गर्न नचाहेको समेत जेलेन्स्कीले बताउनुभयो । 

शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायको उपस्थितिले युक्रेनलाई थप बल प्राप्त भएको उहाँको भनाइ थियो । सम्मेलनमा ९० भन्दा बढी देशका प्रतिनिधि उपस्थित थिए । जसमा कतिपयले युक्रेनको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, रुसमा बन्धक बनाइएका युक्रेनी  सैनिक र रुसी कब्जामा रहेका हजारौँ  बालबालिकालाई छुटाउन दुवै पक्षसँग वार्ता गर्न सकारात्मक रहेको विषयमा सहमति जनाएका थिए ।

यसका लागि रुससँग पहल गर्ने विषयमा समेत अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर, भारत, साउदी अरेबिया, दक्षिण अफ्रिका, इन्डोनेसिया, थाइल्यान्ड, मेक्सिको, युनाइटेड अरब इमिरेट्सले भने उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेनन् । 

रुसलाई उक्त सम्मेलनमा निम्तो दिइएको थिएन भने चीन अनुपस्थित रह्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.