दक्षिणपूर्वी अफ्रिकी मुलुक मालवीका उपराष्ट्रपति चिलियाको विमान दुर्घटनामा निधन

विमानमा रहेका १० जना कै मृत्यु भएको पुष्टि
जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिणपूर्वी अफ्रिकी मुलुक मालवीका उपराष्ट्रपति चिलियाको विमान दुर्घटनामा निधन

काठमाडौं । दक्षिणपूर्वी अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपति साउलोस चिलिमाको सैन्य विमान दुर्घटनामा निधन भएको छ । उक्त दुर्घटनामा ५१ वर्षीय चिलिमासहित विमानमा सवार सबै १० जनाको मृत्यु भएको मलावीका राष्ट्रपति लजारुस चक्वेराले पुष्टि गरेका छन् ।

सोमबारदेखि बेपत्ता उक्त विमानको दुर्घटनाग्रस्त भग्नावशेष मंगलबार देशको उत्तरी भागमा पर्ने पहाडीक्षेत्रको जंगलमा फेला पारिएको हो । विमानको भग्नावशेष फेलापरेपछि टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति चक्वेराले विमानमा सवार कोही पनि जीवित नरहेको जानकारी दिएका हुन् । मलावी डिफेन्स फोर्सको सो विमानमा उपराष्ट्रपति चिलिमा, एकजना पूर्व प्रथम महिला सहित ७ यात्रु र ३ जना सैन्य चालक दल सदस्य गरी कुल १० जना सवार थिए ।

स्थानीय समय अनुसार हिजो बिहान ९ बजे राजधानी लिलोङ्गवेबाट उडेको सो विमान करिब ३७० किलोमिटर उत्तरमा रहेको एम्जुजु अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजे अवतरण गर्नु पर्नेमा बिचबाटो बाटै बेपत्ता भएको थियो । उड्डयन प्राधिकरणका अधिकारीहरुले उपराष्ट्रपति चढेको सैन्य विमान रडारबाहिर गएको बताएपछि राष्ट्रपति चक्वेराले खोजी र उद्धार कार्यका लागि निर्देशन जारी गरेका थिए । एक जना पूर्वमन्त्रीको अन्त्येष्टिमा सहभागी हुन उपराष्ट्रपति सहितको टोली एम्जुजु सहर जान लागेको जनाइएको छ ।

खराब मौसमका कारण उक्त विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि यकिन भने भैसकेको छ । २०१४ देखि उपराष्ट्रपतिका रुपमा रहँदै आउनु भएका चिलिमालाई आगामी वर्ष हुने निर्वाचनमा राष्ट्रपति पदको प्रवल दाबेदारका रुपमा हेरिएको थियो । 

सशस्त्र बल र प्रहरीको आपूर्ति ठेक्कासम्बन्धी भ्रष्टाचार प्रकरणमा २०२२ मा गिरफतारीमा परेपनि महान्यायाधिवक्ताको कार्यालयले सो मुद्दा अघि नबढाउने निर्णय गरेपछि गत महिना अदालतले उनीविरुद्धको अभियोग खारेज गरेको थियो । उपराष्ट्रपति चिलिमाले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.