काठमाडौं । चीनको उत्तरपूर्वी जिलिन प्रान्तमा चार अमेरिकी शिक्षकमाथि छुरा प्रहार भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । चीनको बेहुवा विश्वविद्यालय भ्रमणमा गएका अमेरिकी शिक्षकमाथि छुरा भएको हो ।
उनीहरु अमेरिकाको कर्नेल विश्वविद्यालका शिक्षक हुन् । बेहुवा र कर्नेल विश्वविद्यालयबीच साझेदारी रहेको छ । बेहुवा विश्वविद्यालयका सहकर्मीहरुसँग पार्कमा घुमिरहेको अवस्थामा उनीहरुमाथि छुरा प्रहार भएको बताइएको छ । विश्वविद्यालयका प्रवक्ता जेन भिसेरले छुरा प्रहारको घटना जिलिन सहरमा भएको सीएनएनलाई जनाएका छन् । उनले अमेरिकी विदेश मन्त्रालयले चीनमा छुरा प्रहारको घटनाबारे सूचना प्राप्त गरिसकेको र घटनाबारे अध्ययन गरिरहेको जनाएका छन् ।
घटनास्थलमा रहेका व्यक्तिले खिचेको भिडियोमा घाइतेहरु भुइँमा लडिरहेको देखिन्छ । उनीहरुको अवस्था अत्यन्तै गम्भीर रहेको र उपचारका लागि अस्पताल लगिएको समाचारमा जनाइएको छ ।