भारतीय प्रधानमन्त्री मोदीको शपथ एक दिन पछि धकेलियो

जेष्ठ २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतीय प्रधानमन्त्री मोदीको शपथ एक दिन पछि धकेलियो

काठमाडौं । भारतमा लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हाल्ने तयारी गरिरहनुभएका भाजपा नेता नरेन्द्र मोदीको शपथ कार्यक्रम एक दिन पर धकेलिएको छ ।

यसअघि शनिबार शपथग्रहण गर्ने भनिएकामा सो कार्यक्रम आइतबार साँझका लागि सरेको भारतीय समाचारमाध्यमले जनाएका छन् । कार्यक्रम एक दिन पर सर्नुको कारण भने खुलाइएको छैन ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा भाजपा एक्लैले बहुमत पुर्याउन नसके पनि एनडीए गठबन्धनको नेतृत्व गर्दै मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिन लाग्नु‍भएको हो । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट चाहिनेमा भाजपाले २४० सिटमा सीमित भएको छ । एनडीए गठबन्धनले २९२ सिट जितेको छ ।

बहुमतका लागि एनडीए गठबन्धनका चार दल- १६ सिट जितेको चन्द्रबाबु नायडुको तेलुगु देशम् पार्टी (टीडीपी), १२ सिट जितेको नीतिश कुमारको जनता दल यूनाइटेड (जेडीयू), ७ सिट जितेको एकनाथ सिन्देको (शिवसेना) र ५ सिट जितेको चिराग पासवानको (लोक जनशक्ति पार्टी रामविलास) को समर्थन मोदीका लागि महत्त्वपूर्ण हुन पुगेको छ ।

टीडीपी र जेडीयू निर्णायक देखिएका छन् । भाजपालाई अहिले नै गठबन्धन सरकार बनाउनु पर्दाको समस्याले सताउन थालेको समाचारमा जनाइएको छ ।

टीडीपीले महत्त्वपूर्ण मन्त्रालय र सभामुख तथा जेडीयूले न्यूनतम साझा कार्यक्रम कार्यान्वयन समितिको संयोजक नीतिश कुमारलाई बनाउनुपर्ने माग अघि सारेको छ । अन्य दलले पनि महत्त्वपूर्ण मन्त्रालय दाबी गरेको बताइएको छ ।

चार ठूला मन्त्रालय गृह, रक्षा, अर्थ र विदेश मन्त्रालय भाजपाले अरुलाई नदिने अडान राखेको जनाइएको छ ।

उता शपथ ग्रहण समारोहमा सहभागी हुन नेपाल, बंगलादेश, श्रीलंका, भुटान र मरिससका सरकार प्रमुखलाई निम्तो पठाइएको भारतीय समाचारमाध्यमले जनाएका छन् ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बंगलादेशकी प्रधानमन्त्री सेख हसिना र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघे आउने सुनिश्चित भएको भारतीय समाचारमाध्यमले जनाएका छन् । सार्क मुलुकहरु माल्दिभ्स र पाकिस्तानका प्रधानमन्त्रीहरुलाई निम्तो पठाइएको वा नपठाइएको बारे केही खुलाइएको छैन ।

मोदीको शपथ ग्रहणमा स्वदेश र विदेशका गरी आठ हजारभन्दा बढी विशिष्ट पाहुना उपस्थिति हुने भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.