नयाँदिल्ली । सातौं तथा अन्तिम चरणको मतदान शनिबार भएसँगै भारतमा लोकसभाको चुनाव सकिएको छ । लोकसभाका सबै ५४३ निर्वाचन क्षेत्रमा मतदान भएका हुन् ।
४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो । १९ अप्रिलबाट प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको हो । चुनावको नतिजा भने ४ जुनमा आउनेछ । विश्वकै ठूलो लोकतान्त्रिक देश भारतमा छिटफुट हिंसाका समाचारबाहेक सबैतिर शान्तिपूर्ण चुनाव भएको छ ।
सधैंभरी आतंकवादी आक्रमणको त्रासमा रहँदै आएको कश्मीरमा यसपटक सर्वाधिक मतदान भएको पाइएको छ । सत्तारुढ भारतीय जनता पार्टीले तेस्रोपटक केन्द्रमा जितका लागि पूरा शक्ति लगाएर चुनावी मैदानमा होमिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतभरि सयौं र्याली तथा सभालाई सम्बोधन गरेका थिए । उनी लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न प्रयासरत छन् । यसपटक जितेको खण्डमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री हुने व्यक्ति हुनेछन् । कट्टर हिन्दुवादी पार्टीका रूपमा चिनिएको भाजपाले हिन्दु मतलाई आफ्नो पक्षमा ध्रुवीकृत गरेर चुनावमा जित्ने रणनीति लिएको देखियो ।
भाजपालाई कांग्रेस नेतृत्वको विपक्षी ‘इन्डिया’ गठबन्धनले देशैभर चुनौती दिएको छ । कांग्रेस नेता राहुल गान्धीले विपक्षी गठबन्धनको अगुवा गर्दै चुनावभर देश दौडाहा गरेका थिए । समाजवादी पार्टीका नेता अखिलेश यादव, आमआदमी पार्टीका संयोजक अरविन्द केजरिवालदेखि राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवलगायत कैयौं विपक्षी नेताहरु भाजपालाई हराउन चुनावी मैदानमा डटेका थिए । पश्चिम बंगालमा ममता बनर्जीदेखि महाराष्ट्रमा उद्धव ठाकेर र शरद यादव समेतका नेताहरु भाजपालाई चुनौती दिँदै आए ।
चुनाव प्रारम्भसँगै भाजपाले ‘चार सय पार’को नारा दिएको थियो । चुनाव प्रारम्भ भएसँगै उक्त नारा कमजोर पर्दै गएको विश्लेषकहरुले भन्दै आएका छन् । ९७ करोड मतदाता रहेको भारतमा यसपटकको चुनावमा अघिल्लो पटकहरुभन्दा कम मतदान भएको छ । हरेक चरणमा मतदान प्रतिशत घटेको छ । समग्रमा भएको मतदानको प्रतिशत निर्वाचन आयोगले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।
शनिबार अन्तिम चरणमा भएको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणासीमा पनि मतदान भएको छ । त्यहाँ कांग्रेसले अजय रायलाई उतारेको छ । कांग्रेस नेता राहुल गान्धी केरलको वायानाड र उत्तर प्रदेशको रायबरेली दुई स्थानबाट चुनावी मैदानमा उत्रिएका छन् ।
देशैभर ईभीएमबाट मतदान भएको छ । सबैतिरको मतगणना एकैसाथ जुन ४ का दिन हुनेछ । सत्तारुढ भाजपा र इन्डिया गठबन्धन दुवैले आ-आफ्नो जितको दाबी गरिरहेका छन् । चुनाव सम्पन्न भएसँगै भाजपा अध्यक्ष जेपी नड्डाले भारी बहुमतका साथ आफ्नो सरकार पुनः बन्ने दाबीलाई दोहोर्याएका छन् । इन्डिया गठबन्धन नेताहरुले पनि बैठक गरेका थिए । कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले इन्डिया गठबन्धनले कम्तीमा २९५ सिट जित्ने दाबी गरेका छन् ।
भारतमा भाजपा तेस्रोपटक सरकार बनाउँदै छ कि विपक्षी इन्डिया गठबन्धन जित्दै छ, त्यो परिणाम भने आगामी तीन दिनपछि मात्रै आउनेछ ।