भेनेजुएलाका राष्ट्रपतिको हत्याको षडयन्त्र गरेको आरोपमा ६ विदेशी पक्राउ

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
 भेनेजुएलाका राष्ट्रपतिको हत्याको षडयन्त्र गरेको आरोपमा ६ विदेशी पक्राउ

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको हत्याको षडयन्त्र गरेको आरोपमा ६ विदेशी पक्राउ परेका छन् ।

तीन अमेरिकी, दुई स्पेनी र एक जना चेक नागरिकलाई गिरफ्तार गरिएको भेनेजुएलाका अधिकारीहरुले जनाएका छन् ।

आन्तरिक मामिला मन्त्री डियोस्डाडो क्याबेलोले गिरफ्तार गरिएकाहरुबाट चार सय थान राइफल र अन्य साना हतियार बरामद गरिएको जानकारी दिनुभएको छ । पक्राउ परेका तीन अमेरिकीमध्ये एक जना अमेरिकी जल सेनाको विशेष सैन्य बल नेभिसिल्सका अधिकारी भएको क्याबेलोले बताउनु भएको छ । उक्त षडयन्त्रको नेतृत्व अमेरिकी गुप्तचर निकाय सीआइएले गरेको दाबीसमेत मन्त्री क्याबिलोले गर्नुभएको छ । अमेरिकी विदेश मन्त्रालयले भने उक्त दाबीलाई झुटो भन्दै खण्डन गरेको छ । गिरफ्तार गरिएका दुई स्पेनी नागरिक स्पेनको गुप्तचर निकाय सीएनआइसंग सम्बन्धित भएको दाबी समेत मन्त्री क्याबिलोले गर्नुभएकोछ ।

उनीहरुले राष्ट्रपति मडुरोका साथै उपराष्ट्रपति डेल्सी रोड्रिगेज, आफू स्वयं र पार्टीका अन्य नेताको हत्याको योजना बनाएको आरोप मन्त्री क्याबेलोले लगाउनु भएकोछ ।

भेनेजुएलाको विपक्षी दलका का साथै अमेरिका, स्पेन लगायत थुप्रै ल्याटिन अमेरिकी देशले मडुरोको विवादास्पद निर्वाचनलाई मान्यता दिन अस्वीकार गर्दै आएका छन् । यसै वर्षको जुलाईमा भएको विवादास्पद निर्वाचनमा मडुरो लगातार तेस्रो कार्यकालका लागि विजयी हुनु भएको थियो । मडुरोको विरोधमा चुनाव लडेका एडमुण्डो गोन्जालेजले गत सातामात्रै भेनेजुएलाबाट भागेर स्पेनमा राजनीतिका शरण लिनुभएको थियो ।

अमेरिकाले गत बिहीबारमात्रै मडुरो निकटस्थ केही अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको थियो भने डेढ साताअघि मडुरोले विदेशयात्राका लागि प्रयोग गर्ने जेट विमान, डोमिनिकन रिपब्लिकबाट जफत गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement