ट्रम्पमाथि गोली प्रहारको प्रयास गर्ने व्यक्ति युक्रेन समर्थक रहेको खुलासा

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
ट्रम्पमाथि गोली प्रहारको प्रयास गर्ने व्यक्ति युक्रेन समर्थक रहेको खुलासा

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित वेस्ट पाम बिचमा पूर्वराष्ट्रपति डनल्ड ट्रम्पमाथि एके-फोर्टी सेभेन बन्दूकले आक्रमण गर्न खोजेको आरोपमा पक्राउ परेका व्यक्ति युक्रेन समर्थक रहेको खुलेको छ ।

आइतबार फ्लोरिडास्थित अन्तर्राष्ट्रिय गल्फ कोर्समा गल्फ खेलिरहेका ट्रम्पलाई गोली प्रहार गरी हत्या गर्ने प्रयास गरेको आरोपमा संघीय जाँच एजेन्सी-एफबीआइले ५८ वर्षीय रायन वेस्ले रोथ नामक व्यक्तिलाई पक्राउ गरेको थियो ।

रुस-युक्रेन युद्धमा उनको पूर्ण सहानुभूति युक्रेनप्रति रहेको एफबीआईलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले जनाएको छ। रोथले युक्रेनमा युद्ध लड्ने इच्छासमेत व्यक्त गरेका छन् । उनीसँग कुनै सैन्य अनुभव नभए पनि रुसी आक्रमणपछि उनी युक्रेन गएको समाचारमा जनाइएको छ । उनले रुसविरुद्ध लड्न युक्रेनी सेनामा अफगान सैनिक भर्ती गर्न चाहेको समेत बताएका छन् ।

ट्रम्प गल्फ खेलिरहेका बेला नजिकैको एक झाडीबाट एउटा राइफलको नाल बाहिर निस्केको देखेपछि एफबीआइ एजेन्टले गोली प्रहार गरेका थिए । त्यसपछि भाग्ने क्रममा रोथ पक्राउ परेका थिए । पक्राउपछि प्रहरीले उनको विगतमाथि अनुसन्धान थालेको बीबीसीले जनाएको छ ।

दुई महिनाअघि पनि ट्रम्पमाथि पेन्सिलभेनियामा आयोजित एक र्‍यालीको क्रममा गोली प्रहार भएको थियो । तर, प्रहार गरिएको गोली ट्रम्पको कान छोएर गएको थियो । त्यसबेला उहाँ भाग्यवश बाँच्न सफल हुनु भएको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement