दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा दुई दिनपछि राजीनामा दिने घोषणा

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा दुई दिनपछि राजीनामा दिने घोषणा

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

मदिरा नीति घोटाला प्रकरणमा करिब ६ महिना जेलमा बिताएर दुई दिनअघि मात्रै सर्वोच्चको आदेशले जमानतमा रिहा हुनुभएका केजरीवालले आज आश्चर्यजनक रुपमा राजीनामा घोषणा गर्नु भएको हो । आज दिउँसो पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा केजरीवालले यस्तो घोषणा गर्नु भएको हो ।

केजरीवालले आगामी फेब्रुअरीमा हुने दिल्ली विधानसभाको निर्वाचन समय अगावै अर्थात नोभेम्बरमा गराउन पनि माग गर्नु भएको छ ।

आम आदमी पार्टीका संयोजकसमेत रहनु भएका केजरीवालले आफ्नो राजीनामापछि पार्टीकै कुनै विधानसभा सदस्य मुख्यमन्त्री बन्ने समेत बताउनु भएको छ । केजरीवालले राजीनामा दिएपछि आफू जनतामा जाने र समर्थनका लागि आह्वान गर्ने बताउनु भएको छ ।

सर्वोच्चले केजरीवाललाई जमानत दिएपनि मुख्यमन्त्रिका हैसियतमा कार्यालय जान वा कुनै कागजातमा हस्ताक्षर गर्नमा रोक लगाएको थियो ।

राजश्व विभाग अन्तरगतको शक्तिशाली निकाय प्रवर्तन निर्देशनालय-ईडीले यसै वर्षको मार्च २१ मा मदिरा नीति घोटाला प्रकरणमा केजरीवाललाई गिरफ्तार गरेको थियो । इडीको केसमा सर्वोच्चले केजरीवालाइ जमानत दिएपनि जेलबाट बाहिर ननिस्किंदै २६ जुनमा केन्द्रिय अनुसन्धान ब्युरो सीबीआईले सोही प्रकणमा उहाँलाइ गिरफ्तार गरेको थियो । सीबीआइ गिरफ्तारी प्रकरणमा सर्वोच्चले दुइ दिनअघि मात्रै १० लाख रुपियाँ धरौटीमा केजरीवाललाइ जमानत दिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement