नयाँदिल्लीको बाल अस्पतालमा आगलागी : ७ शिशुको मृत्यु, अस्पतालका सञ्चालक फरार

आगलागीबारे दिल्ली सरकारले थाल्यो अनुसन्धान
जेष्ठ १३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
नयाँदिल्लीको बाल अस्पतालमा आगलागी : ७ शिशुको मृत्यु, अस्पतालका सञ्चालक फरार

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ शिशुको मृत्यु भएको छ ।

दिल्लीको विवेक विहार क्षेत्रस्थित उक्त अस्पतालमा शनिबार राति करिब साढे ११ बजे आगो लागेको जनाइएको छ । आगलागी हुँदा अस्पतालमा १२ नवजात शिशु रहेको एकजना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

घटनापछि अस्पतालका सञ्चालक फरार भएको जनाइएको छ । दिल्लीको अग्नि नियन्त्रण विभागका निर्देशक अतुल गर्गले आगो निभाउन १४ वटा दमकल परिचालन गरिएको तर अक्सिजन सिलिन्डर विस्फोट हुँदा आगो तीव्र गतिमा फैलिएको जनाएका छन् ।

राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई हृदयविदारक भन्दै दुःख व्यक्त गरेका छन् । यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आगलागीको कारणबारे अनुसन्धान सुरु भइसकेको र यस्तो लापरबाहीका लागि जिम्मेवार जो कोहीलाई पनि नछाडिने दृढता व्यक्त गरेका छन् ।

शनिबारै गुजरात राज्यको राजकोटस्थित एउटा मनोरञ्जन केन्द्रमा भएको भीषण आगलागीमा परी २७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांश बालबालिका रहेको जनाइएको छ ।