जबलियाको दोहोरो भिडन्तमा केही इजरायली सुरक्षाकर्मीहरु बन्धक बनाइएको हमासको दाबी

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
जबलियाको दोहोरो भिडन्तमा केही इजरायली सुरक्षाकर्मीहरु बन्धक बनाइएको हमासको दाबी

काठमाडौं । हमासको एक समूहका अनुसार जबलियामा भएको दोहोरो भिडन्तमा केही इजरायली सुरक्षाकर्मीहरु बन्धक बनाइएका छन् । तर इजरायली सेनाले त्यस भनाइमा सत्यता नरहेको जनाएको छ ।

हमासका प्रवक्ताका अनुसार केही इजरायली सुरक्षाकर्मीहरु बन्धक बनाइए पनि संख्या भने बताइएको छैन । यसैबीच इजरायल र हमासबीच वार्ताको नयाँ चरण आउने हप्ता प्रारम्भ हुने बताइएको छ । मोसाद इन्टेलिजेन्स एजेन्सीका प्रमुखले अमेरिकी सीआईए प्रमुख र कतारका प्रधानमन्त्रीसँग भेटेपछि हमाससँग वार्ता गरिने भएको हो ।

हमासका एक अधिकारीले भने इजरायलसँग गरिने वार्ताको कुनै मिति तय नभएको बताएका छन् । गाजामा युद्धको सात महिना बितिसक्दा पनि मध्यस्तकर्ताहरुले एक साझा समझदारीको वातावरण बनाउन सकेका छैनन् । अक्टोबर ७ को हमासको हमलापछि इजरायलले गरेको जवाफी हमलामा झन्डै ३६ हजार प्यालेस्टिनीको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाली विद्यार्थी बिपिन जोशी अझै पनि हमासको नियन्त्रणमै छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.