नयाँ दिल्ली । भारतमा लोकसभाको चुनाव चलिरहँदा पूर्वी राज्य ओडिशामा २४ वर्षदेखि सत्तामा रहेको बिजु जनता दलको किल्ला भत्काउन भारतीय जनता पार्टी भाजपाले पूरा शक्ति लगाइरहेको छ ।
केन्द्रमा तेस्रो पटक सरकार बनाउन भाजपा प्रयासरत छ । त्यसका लागि २१ लोकसभा सिट रहेको ओडिशामा बिजु जनता दललाई पराजित गरेर अधिकतम सिट ल्याउन निकै ठुलो जोड लगाइरहेको छ । २०१९ को चुनावमा ओडिशामा ८ सिट मात्र जितेको भाजपाले यसपटक बिजु जनता दललाई कडा टक्कर दिएको विश्लेषण गरिएको छ ।
ओडिसामा बिजु जनता दलका नवीन पटनायक २४ वर्षदेखि मुख्यमन्त्री छन् । त्यहाँ लोकसभासँगै विधानसभा निर्वाचन पनि भइरहेको छ । ओडिशामा दशकौँदेखि एक छत्र पकड बनाएको बिजु जनता दलले विधानसभा चुनाव जितेमा पटनायकको यो छैटौं पटकको जित हुनेछ । मुख्यमन्त्री पटनायकको लोकप्रियता पनि भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ओडिशामा चुनौती बनेको छ ।
ओडिशामा बिजु जनता दल, भाजपा र कांग्रेस चुनावी मैदानमा छन् । तर, कांग्रेसको स्थिति खासै बलियो मानिएको छैन। २०१९ को लोकसभा चुनावमा त्यहाँ बिजु जनता दलले १२, भाजपाले ८ र कांग्रेसले १ सिट ल्याएको थियो ।